समाज

हिउँ नपग्लँदा कठिनाइ

मुस्ताङमा जमेको हिउँ हटाउँदै स्थानीय। तस्बिर : सुशीलबाबु/नागरिक

पोखरा/मुस्ताङ - भारी हिमपातपछि थुप्रिएको हिउँ नपग्लिँदा हिमाली जिल्लाको कष्टकर दैनिकी कायमै छ। अत्यधिक चिसोका कारण हिउँ कडा चट्टानजस्तै भएर जमेको छ। उत्तरी हावाले पनि त्यहाँका बासिन्दाको जनजीवनमा असर पु-याएको छ। हिउँ पग्लिन कम्तीमा एक साता लाग्ने स्थानीय प्रशासनले जनाएको छ।

हिमाली जिल्ला मनाङ र मुस्ताङमा हिमपातको प्रभाव धेरै परेको प्रहरीले बताएको छ। गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआईजी दानसिंह बोहराका अनुसार चिसोका कारण मनाङमा दुई दिनदेखि सञ्चार सम्पर्क विच्छेद छ। ‘हामी जिल्लासँग नियमित सम्पर्कमा छौं तर हिमपातले जनजीवन अझै पूर्ववत् अवस्थामा फर्केको छैन, चिसोले गर्दा सञ्चार विच्छेद भएको छ,’ उनले भने, ‘हिमपातले त्यहाँका बासिन्दाको आउजाउ नै कठिन बनेको छ।’

अर्काे हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोम र आसपासका क्षेत्रमा जमेको हिउँ अझै पग्लन थालेको छैन। शनिबार बिहानसम्म परेको हिउँ बाक्लो गरी जमेको र त्यसले गर्दा आउजाउमा समेत अप्ठ्यारो परेको मुस्ताङका डिएसपी महेन्द्र खड्काले बताए। उनका अनुसार आइतबार बिहान सातवटा जिप जोमसोम म्याग्दीको बेनीका लागि छुटे पनि कुनै पनि सवारी गन्तव्यमा पुग्न सकेका छैनन्। चारदिनदेखि पोखरा–जोमसोम हवाई सेवा पनि अवरुद्ध छ।

अहिलेकै तापक्रम कायम रहे हिउँ पग्लिन झन्डै एक साता लाग्ने उनको भनाइ छ। बिहानबेलुकी माइनस ६÷७ डिग्रीसम्म पुग्ने जोमसोमको तापक्रम दिउँसो घाम लाग्दा पनि माइनस १ डिग्रीभन्दा माथि उक्लन नसकेको उनले जानकारी दिए। ‘चिसोले गर्दा पनि अप्ठ्यारो भएको छ,’ खड्काले भने, ‘घाम लागे पनि उत्ति सारो न्यानो छैन। हावा पनि तेज गतिमा बहने गरेको छ। चिसो र हावाका कारण घरबाहिर निस्कन कठिन छ।’

जोमसोम र आसपासमा जमेको हिउँ हटाउन समेत नसकिएको उनले बताए। ‘सतहमा हिउँ देखिए पनि तलतल कडा भएर जमेको छ,’ उनले भने, ‘त्यसैल बाटाको हिउँ कतै हटाइए पनि अरू ठाउँमा अझै सेताम्य छ।’ उनका अनुसार पग्लन समय लाग्ने भएपछि गाउँलेले स्थानीय स्रोतसाधन प्रयोग गरेर हिउँ फ्याँक्न थालेका छन्। जोमसोम विमानस्थलको धावनमार्गमा बाक्लो हिउँ जम्दा अझै हवाई उडान नियमित हुन नसकेको विमानस्थल प्रमुख भानुभक्त कोइरालाले जानकारी दिए। कोइरालाका अनुसार धावनमार्गमा अझै झन्डै एक फिटजति बाक्लो हिउँ जमेको छ। कतैकतै ६ इन्च हिउँ जमे पनि धेरैतिर एक फिट बाक्लो हिउँ रहेको उनले बताए। ‘सेना र प्रहरी लगाएर पनि हिउँ फ्याँक्न सम्भव भएन। सतही हिउँ फ्याँकेर पनि केही भएन,’ कोइरालाले भने, ‘सतही हिउँ फ्याँक्दा झनै चिप्लिने डर हुन्छ।’

कोइरालाका अनुसार यतिबेला अफसिजन परेकाले पोखरा–जोमसोम रुटमा दैनिक एउटा मात्र उडान हुन्छ, त्यो पनि हिमपातका कारण चार दिनदेखि रोकिएको छ। ‘अझै हिउँ पर्ने सम्भावना भएकाले अहिले नै फ्याँक्न सुरु नगरेका हौं। अहिलेकै गतिमा धावनमार्गको हिउँ पग्लिन पनि समय लाग्ने देखिन्छ,’ उनले भने, ‘धेरै क्षेत्रमा जमेको हिउँ फ्याँक्न सहज पनि छैन।’ डिएसपी खड्काले विमानस्थलको धावनमार्गको हिउँ फ्याँक्ने प्रयास गरे पनि मात्र धेरै भएकाले नसकिएको बताए। ‘घरायसी साधनले हिउँ फ्याँक्न सकिने अवस्था रहेन। उपकरण नहुँदा धावनमार्गको हिउँ हटाउन सकिएको छैन,’ उनले भने, ‘धावनमार्गको हिउँ पग्लिन अझै केही दिन लाग्ने देखिन्छ।’ कडा चट्टानजस्तै जमेको हिउँ पग्लिन अझै केही दिन लाग्ने उनले बताए।

उत्तरी हावाले झनै सास्ती
मुस्ताङवासीलाई उत्तरी हावाले निकै अप्ठ्यारोमा पारेको छ। विमानस्थल प्रमुख कोइरालाका अनुसार उत्तरी हावाले गर्दा घरबाहिर निस्कन अप्ठ्यारो परेको छ। बिहान–बेलुकी तीव्रगतिमा चल्ने उत्तरी हावाका कारण सर्वसाधारणलाई थप मर्कामा परेका छन्। चार दिनअघि निकै तीव्रताका साथ चलेको उत्तरी हावाले निकै दुःख दिएको उनको भनाइ छ। कोइरालाका अनुसार जोमसोममा सामान्य अवस्थामा १०–१२ नटिकल माइल (१८.५२–२२.२२ किलोमिटर) प्रतिघन्टाको दरमा उत्तरी हावा चल्दा जहाज उडान र अवतरण हुन्छ। त्यस्तै दक्षिण–पश्चिमी हावाको गति सामान्य अवस्थामा २०–२५ नटिकल माइल (३७–४६.३० किलोमिटर) प्रतिघन्टामा उडान सम्भव छ। तर यतिबेला उत्तरी हावाको गति १०–२२ नटिकल माइल (४०.७४ किलोमिटर) प्रतिघन्टाको दरमा रहेको छ। यो गतिको हावामा जोमसोममा हवाई उडान हुन सक्दैन।
‘सामान्य अवस्थामा भन्दा दोब्बर गतिमा उत्तरी हावा चलेको छ। यसले गर्र्दा यो बेला उडान गर्न मिल्दैन,’ कोइरालाले भने, ‘सामान्य अवस्थामा भन्दा यो गति दोब्बर हो।’ गत बिहीबार जोमसोममा ७० नटिकल माइल (१२९.६४ किलोमिटर) प्रतिघण्टाको दरमा हावा चलेको थियो। घन्टौंसम्म लगातार तीव्रगतिमा हावा चल्दा जनजीवन अस्तव्यस्त हुने गरेको कोइरालाले बताए।

प्रकाशित: २८ माघ २०७५ ०१:४४ सोमबार

हिमपात हिमाल हिउँ चिसो