कैलालीको लम्कीचुहा नगरपालिकामा यात्रुवाहक हायसको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ।
लम्कीचुहा नगरपालिका-८ गप्कास्थित सडकमा बिहीबार दिउँसो सु.प.प्र.०१-००१ ख ४०८५ नम्बरको हायसले पैदल हिँडिरहेकी सोही ठाउँकी १५ वर्षीया स्वस्तिका न्यौपानेलाई ठक्कर दिएको थियो।
हायसको ठक्करबाट गम्भीर घाइते भएकी स्वस्तिकालाई तत्काल उद्धार गरी उपचारका लागि टीकापुर अस्पताल पुर्याइएको थियो। तर, अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनालगत्तै प्रहरीले हायस र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रकाशित: १८ भाद्र २०८३ १८:४३ बिहीबार



