सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु भक्तजन सवार ट्याक्टर पल्टिँदा १५ जना घाइते भएका छन्। घाइतेमध्ये १३ वर्षीय एक बालकको अवस्था गम्भीर रहेको छ।
प्रहरीका अनुसार उत्तरवाहिनीबाट कर्जन्हा नगरपालिका-२ बन्दीपुरस्थित महेन्द्र राजमार्गतर्फ जाँदै गरेको ज १ त ४८०८ नम्बरको ट्याक्टर फुलकुमारी महतो स्कुलको गेटअगाडिको उकालोमा अनियन्त्रित भई ट्रेलरसहित पल्टिएको थियो।
दुर्घटनामा धनुषाको जनकपुर उपमहानगरपालिका-१५ रामपुर टोलका १३ वर्षीय अनुराग मण्डल गम्भीर घाइते भएका छन्।
घाइते हुने अन्यमा जनकपुर-१५ रामपुरका १७ वर्षीय कृष्णा मण्डल, ४० वर्षीया गंगिया मण्डल, ३३ वर्षीया मोना कुमारी मण्डल, ५० वर्षीया चन्द्र कुमारी दास, ६० वर्षीया रामदुलारी दास, ४४ वर्षीया राम कुमारी दास, १७ वर्षीय पंचा मण्डल, १७ वर्षीय आसिस कुमार यादव, १२ वर्षीय बिकी मण्डल र बिना कुमारी मण्डल रहेका छन्।
यस्तै, जनकपुर–१२ हनुमाननगरका १८ वर्षीय राहुल दास, १३ वर्षीय प्रिन्स दास, १८ वर्षीय गोपाल यादव र १३ वर्षीय कृष्णा कुमार यादव घाइते भएका छन्। घाइते सबैको उद्धार गरी उपचारका लागि कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा भर्ना गरिएको छ।
दुर्घटनामा परेको ट्याक्टरलाई इलाका प्रहरी कार्यालय बन्दीपुरले नियन्त्रणमा लिएको छ। घटनापछि फरार रहेका चालक धनुषा जनकपुर-१५ का ३५ वर्षीय रामबिहारी मण्डलको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २४ श्रावण २०८३ २१:४१ आइतबार



