सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको तिनाउ गाउँपालिका–३ हेडबक्स नजिकै माथिबाट खसेको पहिरोमा परी घाइते भएका दुईमध्ये एक जनाको मृत्यु भएको छ।
बुटवलबाट पाल्पा आउँदै गरेको लु ५१ प ६६३३ नम्बरको मोटरसाइकल पहिरोमा परी घाइते हुँदा चालक पाल्पाको रामपुर नगरपालिका–५ तालपोखराका ३६ वर्षीय जनक भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।
उनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्याएपछि डाक्टरले मृत घोषणा गरेका हुन्। मोटरसाइकलमा पछाडि सवार उनको श्रीमती कल्पना चापागाई भने सामान्य घाइते भएका छन्।
उनको अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ। एक्कासि माथि भिरबाट पहिरो आएर लाग्दा चालक सडकबाट केही तल खस्न पुगेको प्रहरीले जनाएको छ।
सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन बुटवल सडकखण्डमाका विभिन्न ठाउँमा ढुङ्गा खस्ने र पहिरोको जोखिम रहेकाले अहिले बर्तुङ र सिद्धाबाबा क्षेत्रबाट सवारीसाधनको आवागमनमा रोक लगाइएको छ।
प्रकाशित: २४ असार २०८२ २१:०१ मंगलबार