समाज

बाकसमा थन्किएका प्रमाणपत्र, सडकमा दौडिरहेको ई-रिक्सा

खुट्टा गुमाएकी अप्सरा महतको सङ्घर्ष– ‘महिला भएकै कारण होइन, सक्षम भएकै कारण सम्मान पाउने’

कोहलपुरमा अटो रिक्सा चलाउँदै अप्सरा महत। तस्विरः गणेश/नागरिक

बिहान ७ बजेको कोहलपुर बजार। चहलपहल सुरु भइसकेको छ। सडकमा दौडिरहेका टेम्पु, अटो, मोटरसाइकल, साइकल, मान्छेहरूको भिड। यिनै भिडमाझ एक रातो अटो बिस्तारै अगाडि बढ्दै छ। स्टेयरिङमा अप्सरा महत छिन्, एक हातले गियर सम्हाल्दै, अर्कोले ई-रिक्साको गति मिलाउँदै।

यो गतिको लक्ष्य छ, सवारी साधन चलाउँदै–सपना जोगाउने। त्यो सपना हो, शिक्षाबाट आत्मनिर्भरता बनाउने। त्यो सपना हो, शारीरिक अपांगता र गरिबीको चक्रबाट बाहिर निस्कने। त्यो सपना हो, महिला भएकै कारण होइन, सक्षम भएकै कारण सम्मान पाउने।

कहिल्यै हिम्मत नहार्ने अप्सराले जागिरका लागि दर्जनौं ठाउँमा दरखास्त दिइन्। विद्यालयमा आवेदन दिइन्, साना संस्थामा पेस गरिन्। तर, शिक्षाको आधारमा अवसर पाइएन। अन्ततः उनी भन्छिन्, ‘शिक्षाले सानो काम गर्न नहुने भन्ने भ्रम अन्त्य गरें। प्रमाणपत्र बाकसमा थन्काएँ र सवारी चलाउने निर्णय गरें।’

पहिलो चार वर्ष उनले भाडाको रिक्सा चलाइन्। बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म। धुलो, घाम, पानी, सवारी चापसबै  सहेर। त्यही आम्दानीबाट उनले आफ्नै रिक्सा किनिन्। त्यो उनको उपलब्धिको पहिलो पाइलो थियो।

साना एनजीओ र सीपमूलक केन्द्रहरूमा काम खोज्न पुगिन्। कतिपयले उनको शारीरिक अवस्था देखेर बहाना बनाए, कतिपयले अवसर छैन भन्दै फिर्ता गरे। जसले अपांगता भएको व्यक्ति शिक्षित भए पनि रोजगारको ढोका बन्द हुन्छ भन्ने यथार्थ उजागर गथ्र्याे।

धेरै प्रयासपछि पनि जब जागिरका ढोका बन्द हुन थाले, उनलाई लाग्यो, ‘अब मेरो प्रमाणपत्रसँगै सपनाहरू पनि बाकसमा थन्किने भए।’ उनले भनेजस्तै, एउटा रात आफ्ना प्रमाणपत्रहरू निकालेर प्लास्टिकमा बेरेर बाकसभित्र राखिन्। त्यही रात, उनले अर्को निर्णय गरिन्, जसले उनको जीवनको दिशा मोड्यो।

उनको मनमा एउटै कुरा थियो, जीवन थुनिएर बस्नुभन्दा हिँडिरहँदा केही त सम्भव हुन्छ । ‘त्यही हिम्मतका साथ एउटा नयाँ यात्राको थालनी गरेँ, रिक्सा चलाउने,’ उनले भनिन्।

पहिलोपटक रिक्सा स्टेयरिङ समात्दा मनभित्र धेरै भावना मिसिएका थिए, डर, संकोच, अनिश्चय, तर त्यसभन्दा ठूलो थियो आत्मसम्मानका लागि जीवन चलाउने आँट उनी बताउँछिन्। ‘पहिले त रिक्साको गियर मिलाउँदा पनि डर लाग्थ्यो, बाटामा हेर्ने मान्छेहरूको नजर सहन गाह्रो हुन्थ्यो,’ उनी सम्झन्छिन्।

तर परिस्थितिले उनलाई कठोर बनाउँदै लग्यो। बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म उनले कोहलपुरका गल्ली, बजार, चोकमा यात्रुहरू बोकेर घाम–पानी र धुलोसँग संगत गरिन्।

कहिलेकाहिँ यात्रुहरूले खिसी गरे, ‘पढेलेखेको भएर पनि रिक्सा चलाउने ?’ तर त्यस्ता कटाक्षहरूलाई उनले ‘उत्तर नभएको प्रश्न’ जस्तै टारिन्। चार वर्षसम्म उनले भाडाको रिक्सा चलाइन्।

दैनिक ८–१० घण्टा सवारी चलाउँदा उनले सस्तो कपडा, र सामान्य खाना खाएर पैसाको जोहो गर्न थालिन्। त्यो आम्दानीबाट उनले बिस्तारै पैसा जम्मा गरिन्। तर ती कठिन दिनहरूमै उनी भित्रभित्रै बलियो बन्दै गइन्। र, त्यो बलियोपनको प्रतीक थियो, आफ्नै रिक्सा।

‘जब मैले आफ्नै नाममा एउटा सवारी किन्न सकें, मलाई लाग्यो यही हो मेरो डिग्रीको प्रयोग,’ उनी भन्छिन्। त्यो रिक्साको स्टेयरिङ समात्दा उनले महसुस गरिन्, पढाइले उनलाई हिम्मत दिएको छ, निर्णय गर्न सक्ने चेतना दिएको छ।

जागिर पाएनन् भनेर पढाइ व्यर्थ भएन, बरु त्यसले सम्मानजनक श्रम गर्न प्रेरणा दियो। तर त्यो रिक्सा पनि धेरै वर्ष चलाउन सकिइएन। बिग्रियो, मर्मत गर्न खर्च पुगेन। अहिले उनी फेरि अर्को भाडाको अटोमा फर्किएकी छन्, तर फरक के छ भने, अब उनी डराउँदिनन्, लाज मान्दिनन्, लाचार महसुस गर्दिनन्।

उनको अनुहारमा आत्मविश्वास छ, जसले जीवनसँग मिलेको हारलाई जितमा बदल्ने प्रयत्न गरिरहेको छ। प्रमाणपत्रहरू अझै बाकसमा छन्, तर अब ती लाज होइनन्, यात्रीहरूको घुइँचोमा हराएको होइन, जिउँदो सपना पूरा गर्ने यात्राको साक्षी हुन्। अहिले दैनिक एक हजार पाँच सयसम्म आम्दानी गर्छिन्। यो आफ्नो इमान्दारीता र लगनशीलताको कमाइ भएको उनी बताउँछिन्।

अप्सरा २०५४ सालमा जाजरकोटमा जन्मिइन्। घरको सामान्य अवस्था थियो। जम्मा आठ वर्षकी हुँदा एक भयानक दुर्घटनाले उनको जीवनको मोड नै बदलिदियो। आमा लक्ष्मीको उपचारका लागि नेपालगन्ज आएका बेला सवारी दुर्घटनामा परिन्।

दुर्घटनामा सबैभन्दा ठूलो धक्का अप्सरालाई लाग्यो। उनको बायाँ खुट्टा काट्नुपर्‍यो। ‘दुर्घटनाको दिन सम्झिँदा आज पनि शरीर गल्छ,’ उनी भन्छिन्, ‘त्यसपछि मलाई लाग्यो, अब म केही गर्न सक्दिनँ होला।’ तर यिनै घटनाले उनलाई जीवन बुझ्ने, संघर्ष गर्न सिकाउने बुनियाद बनाइदियो।

अप्सराले जाजरकोटमै एसइई उत्तीर्ण गरिन्। दुई वर्षअघि १२ कक्षा पास गरिन्। पढ्नमा उनी अब्बल थिइन्। ‘म सोच्थें, सरकारी जागिर खाएर घरको अवस्था सुधार्छु,’ उनले भनिन्।

तर, बाधाहरू पहाडसरह ठडिएका थिए। शारीरिक अपांगता, आर्थिक अभाव र सामाजिक दबाब। लोकसेवा तयारी गर्न आर्थिक तगारो बन्यो। दाई टेकबहादुर महतले अहिलेसम्म साथ दिएकै छन्।

खुट्टा गुमाएकी अप्सराले कृत्रिम खुट्टा लगाएकी छन्। तर, त्यो उनको आत्मबलको भरपर्दो सहारा भएको उनको भनाइ छ।

‘कृत्रिम खुट्टा भन्दा ठूलो हिम्मतको भर छ मेरो,’ उनी हाँस्दै भन्छिन्। सवारी चलाउँदा कतिपयले उनलाई हेरेर चकित हुन्छन्। कहिलेकाहिँ यात्रुहरू सोध्छन्, ‘तपाईंले किन यो काम गर्नुभयो ?’ त्यस्तो बेला उनी भन्छिन्, ‘शिक्षा छ, तर जागिर छैन। पेट पाल्न काम गर्नुपर्छ। काम सानो–ठूलो हुँदैन।’

अब अप्सराको विवाह भइसकेको छ। एक छोरा छन्। श्रीमान् पनि मजदुरी गर्छन्। कोहलपुरमा अहिले पनि महिला सवारी चालक थोरै छन्। अप्सरा तीमध्ये एक उदाहरणीय पात्र हुन्।

‘शिक्षित भएर पनि जब अवसर पाइन्न, तब विकल्प रोज्नुपर्ने बाध्यता हुन्छ,’ उनी भन्छिन्। अप्सराले आफूलाई विकल्पमा सीमित राखिनन्। सशक्त र सशक्तिकरणको प्रतीक बनिन्।

प्रकाशित: १४ असार २०८२ १६:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App