त्रिभुवन विश्वविद्यालय (त्रिवि) का स्थायी शिक्षक/कर्मचारीलाई दक्षता अभिवृद्धि गर्न उपलब्ध गराइएको अध्ययन बिदाबापतको सहुलियत दुरूपयोग भएको पाइएको छ। त्रिविले शिक्षक तथा कर्मचारीलाई पेसागत वृत्ति विकासका लागि २०३७ सालदेखि तलबसहित पाँच वर्ष अध्ययन बिदा दिँदै आएको छ। शिक्षक/कर्मचारीले सुविधाका रूपमा पाएको उक्त बिदाको दुरुपयोग गरेपछि त्रिविले खोज समिति गठन गरी तथ्यांक संकलन गरेको छ।
त्रिविले गत फागुन ९ गते सहप्राध्यापक डा. जीवन काफ्लेको संयोजकत्वमा ‘अध्ययन बिदा बसेर नफर्केका शिक्षक/कर्मचारी खोज समिति’ गठन गरेको थियो। समिति तीन सदस्यीय छ। समिति सदस्यहरूमा त्रिवि समन्वय माहाशाखाका प्रमुख दीपक तिवारी र कृष्णहरि आचार्य छन्। समितिका संयोजक काफ्लेले तीन महिना लगाएर गरेको खोजीपछि सुझावसहित प्रतिवेदन शुक्रबार त्रिविका निमित्त उपकुलपति प्राध्यापक डा. खड्ग केसी, शिक्षाध्यक्ष प्राध्यापक डा. दुविनन्द ढकाल र रजिस्ट्रार प्राध्यापक डा. केदार रिजाललाई बुझाएका छन्।
समितिले त्रिविका ४० विभाग र ६२ आंगिक कलेजमा स्थायी शिक्षक/कर्मचारीको २०३७ सालदेखिकै अध्ययन बिदा संकलन गरी अनुसन्धान गरेको थियो। संयोजक काफ्लेले बुझाएको प्रतिवेदनमा एक सय ८७ जना शिक्षक/कर्मचारी पाँच वर्षे अध्ययन बिदामा विदेशमा गएको र अध्ययनपछि त्रिविमा नफर्केको उल्लेख गरिएको छ।
यसैगरी दुई सय १३ जना शिक्षक/कर्मचारी अध्ययन बिदा बसेको तर उनीहरूले उत्तीर्ण प्रमाणपत्र पेस नगरेको फेला परेको छ।
‘त्रिविले व्यवस्थित रूपमा २०३७ सालदेखि शिक्षक/कर्मचारीको वृत्ति विकासमा सहयोग पुग्ने र विश्वविद्यालयको शैक्षिक र प्रशासनिक गुणस्तरमा अभिवृद्धि गर्ने लक्ष्यसहित तलबी अध्ययन बिदा दिँदै आएको छ,’ समिति संयोजक काफ्लेले प्रतिवेदन बुझाएपछि नागरिकसँग भने, ‘तर त्रिविका ६२ आंगिक कलेज र ४० विभागको तथ्यांक हेर्दा अध्ययन बिदा सुविधा लिएर नफर्केका एक सय ८७ जना देखिए। जबकि त्रिवि ऐनमै अध्ययन बिदा सकेपछि फर्केर आफ्नो क्षेत्रमा अनिवार्य काम गर्नुपर्ने व्यवस्था छ।’
उनले थपे, ‘यसैगरी पाँच वर्ष तलबी अध्ययन बिदा बसे पनि पढाइ पूरा नगरी विश्वविद्यालयमा फर्केका दुई सय १३ शिक्षक/कर्मचारी फेला परेका छन्। अर्थात् उनीहरूले आफूले हासिल गरेको शैक्षिक उपाधिको शैक्षिक प्रमाणपत्र पेस गरेका छैनन्।’
संयोजक काफ्लेले अध्ययन बिदा दुरुपयोग गर्नेलाई कारबाहीको दायरामा ल्याउन सिफारिससहित प्रतिवेदन बुझाएको बताए।
निमित्त उपकुलपति केसीले समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्नेे प्रतिबद्धता जनाए। त्रिविले पाँच वर्ष अध्ययन बिदामा बसेका प्रतिशिक्षक/कर्मचारीलाई ४५ लाख रुपैयाँसम्म खर्च गरेको बताउँदै केसीले बिदाको दुरुपयोग गर्नेबाट ब्याजसहित खर्च रकम फिर्ता गर्ने बताए।
‘त्रिवि ऐनमा तलबी अध्ययन बिदा लिएर नफर्कने र डिग्री हासिल नगर्नेउपर कारबाही गरी ब्याजसहित रकम असुलउपर गर्ने व्यवस्था छ,’ केसीले भने, ‘खोज समितिले कारबाही सिफारिससहित बुझाएको प्रतिवेदन प्राप्त भएको छ।
अब हामीसँग आधिकारिक रूपमै तथ्यांक आयो। नामनामेसी यथाशीघ्र पुनः प्रमाणीकरण गर्न र थप छानबिन गर्न सो समितिलाई नै जिम्मा दिएका छौं।’ उनले जनताले तिरेको करबाट शिक्षक/ कर्मचारीले अध्ययन बिदाको सुविधा पाएकाले जनताप्रति जवाफदेही हुनुपर्नेमा जोड दिए। ‘त्यसकारण त्रिविले अध्ययन बिदा दुरुपयोग गर्नेबाट ब्याजसहित खर्च असुल गर्छ,’ उनले भने।
समितिका सदस्य सचिव एवं त्रिवि समन्वय महाशाखा प्रमुख तिवारीले त्रिविले वृत्ति विकासका लागि दिएको सुविधामा परिवारसहित विदेश जाने र नफर्कने प्रवृत्ति शिक्षक/कर्मचारीमा देखिएको बताए।
‘अध्ययन बिदाको सुविधा पाँच वर्ष लिने र सोही अवधिमा विदेशमा अवसर पाएर परिवारै बिदेसिएको पनि पाइयो,’ तिवारीले अध्ययन प्रतिवेदनको निष्कर्ष बताउँदै भने, ‘अवसर पाएर विदेशमै बसी त्रिविलाई लत्याएको देखियो। प्राज्ञ/विज्ञहरू विदेशकै भइदिँदा त्रिविको लगानी खेर गयो।’
उनले शैक्षिक गुणस्तरमा यस्ता विज्ञको ज्ञान र सिप प्रयोगमा नआएपछि त्रिविको सुधार हुन नसकेको बताए। ‘सहुलियतको दुरुपयोगले व्यक्तिको भने वृत्ति विकास भयो, विश्वविद्यालयको हुन सकेन,’ उनले भने, ‘यसकारण अब त्रिविले कडा कारबाहीको कदम चाल्नैपर्ने भनी प्रतिवेदनमा सुझाव दिइएको छ।’
प्रकाशित: १ असार २०८२ ०७:०४ आइतबार