समाज

पत्रकार दिलभूषण पाठकमाथि पक्राउ पुर्जी जारी हुनु गम्भीर विषय : प्रेस चौतारी नेपाल

बिजमाण्डु डटकम र नेपाल खबर डटकममा प्रकाशित समाचार हटाउन काठमाडौं जिल्ला अदालतले जारी गरेको आदेश र सोही समाचारका सन्दर्भमा पत्रकार दिलभूषण पाठकमाथि पक्राउ पुर्जी जारी गरिनुलाई प्रेस चौतारी नेपालले गम्भीर रूपमा लिएको जनाएको छ।

प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाद्वारा जारी विज्ञप्तिमा नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गरिएको स्मरण गराइएको छ। साथै प्रकाशित वा प्रसारित सामग्रीप्रति असन्तुष्टि वा विवाद उत्पन्न भएमा त्यसको प्रारम्भिक मूल्यांकन र निरूपण गर्ने संवैधानिक तथा कानुनी अधिकार प्रेस काउन्सिल नेपालमा निहित रहेको स्पष्ट गरिएको छ।

यो पनि पढ्नुहोस्

हिल्टन-जयवीर प्रकरण : पत्रकार पाठकविरुद्ध पक्राउ पूर्जी जारी

“संविधानको रक्षा गर्ने जिम्मेवारी सम्मानित अदालतको भन्नेमा हामी प्रष्ट छौं,” विज्ञप्तिमा भनिएको छ, “अदालतले प्रारम्भिक आदेशको पुनरावलोकन गर्दै संविधान र विधिको मर्मअनुरूप सुधार गर्नेमा हाम्रो दृढ विश्वास छ।”

यससँगै चौतारीले नेपाल प्रहरीको साइबर ब्युरोले पत्रकार पाठकमाथि जारी गरेको पक्राउ पुर्जी तत्काल खारेज गर्न माग गर्दै उक्त कदम प्रेस स्वतन्त्रताविपरीत भएको उल्लेख गरेको छ।

प्रेस स्वतन्त्रताको रक्षा, पत्रकारको पेशागत स्वतन्त्रता तथा प्रेस काउन्सिल नेपालको संस्थागत मर्यादा जोगाउन प्रेस चौतारी नेपाल पूर्ण प्रतिबद्ध रहेको जनाएको छ। साथै पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न सम्पूर्ण सञ्चारमाध्यम र पत्रकारहरूलाई पनि चौतारीले अनुरोध गरेको छ।

प्रकाशित: २८ जेष्ठ २०८२ १५:४२ बुधबार

#NagarikNews #NepaliNews #DilBhusanPathak