समाज

नागढुङ्गा-नौबिसे खण्ड थप ५ दिन बन्द रहने

त्रिभुवन राजपथ अन्तर्गत नागढुङ्गा-नौबिसे सडक खण्डमा सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले थप ५ दिन सवारी आवागमन बन्द गरिने भएको छ।

नागढुङ्गा-मुग्लिङ्ग सडक योजना (पूर्वी खण्ड) ले एक सूचना जारी गर्दै जेठ २६ गतेदेखि जेठ ३० गतेसम्म दैनिक साढे चार घण्टा सडक बन्द हुने जानकारी दिएको हो।

सूचना अनुसार, उक्त अवधिमा हरेक दिन बिहान १०:३० बजेदेखि दिउँसो ३:०० बजेसम्म सवारी साधनलाई पूर्ण रूपमा रोक लगाइनेछ।

यो समयमा काठमाडौंबाट नौबिसेतर्फ जाने सवारीलाई नागढुङ्गा चेकपोस्टमा र नौबिसेबाट काठमाडौंतर्फ आउने सवारीलाई खानीखोला बजारमा नै रोकिने व्यवस्था मिलाइएको छ।

सडक बन्द हुने समयमा साना तथा मझौला सवारी साधनका लागि वैकल्पिक मार्ग प्रयोग गर्न सकिने योजनाले जनाएको छ। जसअनुसार, यात्रुहरूले निम्न दुई मार्ग प्रयोग गर्न सक्नेछन्:

१. सीतापाइला-रामकोट-धार्के सडक
२. सामाखुशी-टोखा-छहरे-त्रिशुली (विदुर)-गल्छी सडक

दमकल, एम्बुलेन्स र सुरक्षा निकायका जस्ता अत्यावश्यक सवारी साधनलाई भने निर्वाध रूपमा सञ्चालन हुन दिइने सूचनामा उल्लेख छ।

प्रकाशित: २५ जेष्ठ २०८२ ११:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App