कटारी नगरपालिकाको खानीबाट अव्यवस्थित चुनढुङ्गा उत्खनन गर्दा स्थानीयहरु प्राकृतिक विपतको प्रभावमा पर्ने जोखिम बढेको छ । निरन्तरको अव्यवस्थित उत्खनन् र दैनिक हजारौँ ठूला भारवहनका गाडी (ट्रक र टिफर)ले ढुङ्गा ओसारपसार गर्नाले समग्र वातावरण प्रभावित हुँदै विपत् जोखिम बढेको स्थानीयको गुनासो छ ।
चुनढुङ्गा उत्खननले स्थानीय खोला खहरेहरुमा सामान्य वर्षा हुँदा पनि बाढी, पहिरो र भूक्षय हुने, फोहोरले खहरेहरु भरिदै जाँदा पानी सुक्नेजस्ता प्राकृतिक विपतको जोखिम बढ्दै गएको स्थानीय बताउँछन् । नजिकिँदै गरेको वर्षायाममा यसले प्राकृतिक विपतको जोखिम उच्च रुपमा निम्त्याउने खतराप्रति सचेत गराउँदै स्थानीयले व्यवस्थापन गर्न माग गरेका छन् ।
स्थानीय राजनीतिकदल, नागरिक अगुवा र सरोकारवाला व्यक्तिहरुले नगरपालिका र सम्बन्धित उत्खनन् कम्पनीलाई यसबारे विचार पु¥याउन माग गरेका छन् । उनीहरुले नगर विपत् यवस्थापन समिति बैठकमै गएर नगर जनप्रतिनिधि र सरोकारवाला निकायको ध्यानाकर्षण गराएका हुन् ।
नेपाली काँग्रेसका कटारी नगर सभापति प्रकाश थापा, नेकपा (माओवादी केन्द्र) का नगर अध्यक्ष कमल श्रेष्ठ, नेकपा (एकीकृत समाजबादी)का निर्वाचन क्षत्र २ का अध्यक्ष हृदय तामाङलगायत राजनीतिकर्मीले खानीक्षेत्रको उत्खननसँगै वातावरण प्रतिकुल हुँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् । उनीहरुले यसबारे नगरपालिकाको ध्यानाकर्षण गराउँदै चुनढुङ्गा उत्खनन्पछि प्रयोगमा नआउने ढुङ्गा माटोको उचित व्यवस्थापन गर्न माग गरेका छन् ।
प्रयोगविहीन ढुङ्गा माटोको उचित व्यवस्थापन नहुँदा आसपासका खोला खहरेको सतह बढ्दै गएको, त्यसले पानी सुक्न थालेको तथा सामान्य वर्षामा पनि बाढी पहिरोजस्ता विपत् घट्ना बढ्दै गएर वातावरण सन्तुलन खल्बलिदै गएकोमा उनीहरुले सचेत गराएका छन् । राजनीतिकर्मीहरुले उत्खननले कटारीका विभिन्न बस्तीहरूलाई बर्खायाममा बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोपको उच्च जोखिममा पार्दै लगेको गुनासो गरेका छन् ।
चुनढुङ्गा उत्खनन गर्दा ठेकेदार कम्पनीहरुले सामाजिक उतरदायित्व बहन गर्नुपर्नेमा त्यसप्रति वास्ता नगरेको गुनासोसमेत गरेका छन् । उत्खननक्षेत्रको कच्चा पदार्थ व्यवस्थापन नगरिने गर्दा विपत् निम्त्याउने खतरा उच्च रहेको भन्दै अगुवा नागरिकहरुले यस्तो अनियन्त्रित उत्खननलाई नियमन गर्न नगरपालिकासाँग आग्रह गरेका छन् ।
उत्खनन् बेलगाम भईरहेको तर, सरोकारवाला निकायबाट नियमित अनुगमन र नियमन गर्ने काम नभएकाले अव्यवस्थित हुन पुग्दा वितको जोखिम बढ्दै गएको स्थानीयको भनाई छ । यो सँगै फोहोर उत्पादन तथा धुलो धुँवाको व्यापक बढोत्तरीले स्थानीयबासीलाई थप समस्यामा पार्दै लगेको भन्दै नगरपालिकासँग दीर्घकालीन व्यवस्थापन गर्न माग गरेका छन् ।
नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले उनीहरुको मागप्रति तत्काल सजग हुँदै खानीक्षेत्रको निरीक्षण गरेर दीगो व्यवस्थापनका लागि आवश्यक पहल चालिहाल्ने प्रतिबद्धता जनाएका छन् । नगर विपत् व्यवस्थापन समिति संयोजकसमेत रहेका मेयर श्रेष्ठले तत्काल बैठक राखेर संभावित विपत् जोखिम न्यूनिकरण र प्रतिकार्य गर्न आवश्यक पूर्वतयारी गर्ने पनि मेयर श्रेष्ठले वाचा गरेका छन् ।
मेयर श्रेष्ठले विपत् व्यवस्थापन समितिमा नगर जनप्रतिनिधि, मातहतका विभिन्न कार्यालय प्रमुख तथा राजनीतिकदलका प्रतिनिधिहरूलाई राखेर व्यापक छलफल गरी प्रभावकारी कदम चाल्ने योजना पनि उनले सुनाए ।
कटारी नगरपालिकाको ८ न. वडामा दुई सिमेन्ट उद्योगले खानी उत्खनन गर्दै आएका छन् । सिरिसेको आहाले पट्ना भन्ज्याङक्षेत्रमा कसमस सिमेन्टले झण्डै डेडदशकदेखि चुनढुङ्गा उत्खनन गर्दै आएको छ । त्यसैगरी सौर्य सिमेन्ट उद्योगले सोही वडाको आहाले, थलिया, भान्टाबारीक्षेत्रमा झण्डै दशकयता उत्खनन् गर्दै आएको छ । सोझै खानी विभागमा दर्ता गरेर उत्खनन् गर्ने गरेकाले उद्योगहरुले नगरपालिकासँग त्यत्ति चासो नराख्ने पनि स्थानीय बताउँछन् ।
प्रकाशित: १३ जेष्ठ २०८२ १७:०४ मंगलबार



