समाज

अर्घाखाँची-कपिलवस्तु सीमा विवाद उत्कर्षमा

लाखौँ रुपैयाँ राजस्व तिरेका निर्माण व्यवसायी संकटमा

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका र कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकाबिच सीमा विवाद भएपछि नदीजन्य कुरा निकासीमा समस्या देखिएको छ ।

दुई जिल्लाको सीमा विवादका कारण सुकबेल खोला र  चोरखोलाबाट  नदीजन्य कुरा निकासीमा समस्या देखिएपछि यो विवाद प्रदेश सरकार सम्म पुगेको छ । अर्घाखाँचीको शितगंगा नगरपालिकाले प्रत्येक वर्ष लगाउँदै आएको नदीजन्य पदार्थ ठेक्कामा कपिलवस्तुको शिवराज नगरपालिकाले अवरोध गरेपछि विवाद उत्पन्न भएको हो ।

२०६४ सालदेखि अर्घाखाँचीले ठेक्का लगाउँदै आएका खोलाहरूमा कपिलवस्तुले दाबी गरेपछि विवाद मेटाउन कपिलवस्तुको तौलिहवामा आइतबार बैठक बसेको छ। विवाद समाधानका निम्ति दुवै जिल्लाका समन्वय समिति प्रमुख, नगरपालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा सुरक्षा निकायका प्रमुखहरूसहित सरोकारवालाहरूको उपस्थितिमा कपिलवस्तु समन्वय समितिका प्रमुखको कार्यकक्षमा छलफल भएपनि निकास निस्कन सकेन।

बैठकमा सहभागी शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापा बिचमै असहमति जनाई निस्किएपछि वार्ता बिना निष्कर्ष टुङ्गिएको हो। नागरिकसँगको कुराकानीमा उनले भने,'दुई जिल्लाका डिभिजन वन कार्यालयले सिमाना स्पष्ट नगरेकोले समस्या उत्पन्न भएको छ। शितगंगालाई ठेक्का निकाल्न दिने शिवराजलाई नदिने खालको वनका कर्मचारीको भयो । मुख्यमन्त्री बाट समेत पक्षपात भएको छ ।'

मेयर थापाले शीतगंगा नगरपालिकाले सिमाना मिचेर नदीजन्य पदार्थ निकासाको टेन्डर लगाएको  र अहिले शिवराजलाई अनावश्यक दोष दिएको भन्दै कपिलवस्तु हुँदै नदीजन्य सामग्री लैजान नदिने चेतावनी दिए ।

सुकबेल खोला शिवराज नगरपालिकाको सम्पत्ति रहेको  भन्दै उनले शीतगंगाले अनधिकृत ठेक्का लगाएको बताए । कपिलवस्तुको बाटो हुँदै नदीजन्य पदार्थ निकासी गर्दा स्थानीयले विरोध जनाएपछि नगरपालिकाले रोक लगाएको तर अहिले मुख्यमन्त्रीको दबाबमा अर्घाखाँचीले जबरजस्ती गर्न खोजेको समेत उनले आरोप लगाए ।

शितगंगा नगरपालिकाका नगर प्रमुख छविलाल पौडेलले २०५५ सालदेखीनै यो भूमिमा अर्घाखाँचीले काम गर्दै आएकामा अहिले यो विवाद आवश्यक नै नरहेको बताए । झन्डै एक दर्जन खोला अर्घाखाँची हुँदै कपिलवस्तु जाने भएकाले माथिको भाग अर्घाखाँचीले र तलको भाग कपिलवस्तुले प्रयोग गर्दै आएको बताए । चोर खोला, बाणगंगा खोला, कोन्द्रे खोला, सुरई खोला, सुकबेल खोला, भंगला खोला, मुसिया खोला लगायतका एक दर्जन खोला अर्घाखाँचीबाटै कपिलवस्तु बग्ने भएकाले अर्घाखाँचीमा पर्ने क्षेत्र अर्घाखाँचीले तथा कपिलवस्तुमा पर्ने क्षेत्र कपिलवस्तुले प्रयोग गर्दै आएको मेयर पौडेलको भनाई छ ।

दशकौँदेखि नै अर्घाखाँचीले ठेक्का लगाउँदै आएका खोलाहरूमा शिवराज नगरपालिकाले अनावश्यक विवाद झिकेको उनले बताए । 'पहिल्यैदेखी हामीले प्रयोग गरिरहेका सम्पत्तिमा अहिले आएर हाम्रो हो भन्ने दाबी शिवराजको छ,' उनले भने,'यस विषयमा निहुँ खोजेर काममा अवरोध गर्नुको औचित्य छैन ।'

दुवै जिल्लाका समन्वय प्रमुखले संवादका माध्यमबाट निष्कर्षमा पुग्नुपर्ने बताए । विकासमा अवरोध गरेर दुवै जिल्लाको हित नहुने भन्दै छिटै यो विषय टुंगो लगाउने बताए ।

विवाद टुङ्गाउन यसअघी पटक(पटक छलफल भएका थिए । समाधान गर्ने भन्दै आइतबार भएको छलफल पनि निष्कर्षविहीन बनेपछि अन्योल थपिएको छ । सुकबेल खोलामा अर्घाखाँचीले ठेक्का लगाइसकेको थियो ।  निर्माण व्यवसायीले ठेक्का बापतको कबोल रकम सरकारको खातामा दाखिला गरेकोले उनीहरू समेत समस्यामा परेका छन्।

विवादको आगो प्रदेश सरकारसम्मै पुगेपछि प्रदेशमा समेत छलफल भएको छ । बन मन्त्री देवकरण कलवार,  बन सचिव प्रमोद भट्टराईले मुख्यमन्त्री  चेतनारायण आचार्यसँग छलफल गरेपनि समस्या सुल्झाउन कठिन बनेपछि यो विषय पेचिलो बनेको छ ।

दुवै नगरपालिकाले आफ्नो दाबी नछाडेपछि समस्या ज्युँ का त्युँ रहेको हो । विवादले दुवै जिल्लाका सीमा क्षेत्रमा विकासका कामहरू रोकिएका छन् ।

शितगंगा नगरका योजना अधिकृत नुमलाल खनालले यहाँ भप्दा अघि निर्बाध काम गरिरहेका क्षेत्रमा अहिले विवाद झिकिएको बताए । डिभिजन वन कार्यालय कपिलवस्तुका डिभिजन बन अधिकृत ईश्वरीप्रसाद पौडेलले सुकबेल खोलामा विवाद रहेको उल्लेख गर्दै सीमा विवादका सवालमा वनको क्षेत्राधिकार नभएको बताए  ।

प्रदेश सरकार वा मन्त्रालयले गर्ने निर्णयमा सहमत हुनुपर्ने सरोकारवालाहरूको सुझाव छ । बैठकमा अर्घाखाँची प्रदेश सभा (ख) का प्रदेश सांसद रामजी प्रसाद घिमिरे, कपिलवस्तु प्रदेश सदस्य अर्जुन केसी, जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्य, जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइराला, शिवराज नगर प्रमुख अजय थापा, शीतगंगा नगर प्रमुख छविलाल पौडेल, शीतगंगा उपप्रमुख गीता भाट, अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल, शीतगंगा योजना अधिकृत नुमलाल खनाल, अर्घाखाँचीका डिभिजन वन प्रमुख मोहन श्रेष्ठ, कपिलवस्तु डिभिजन बन प्रमुख ईश्वरी पौडेल, शिवराज नगरपालिकाका पूर्व मेयर नेत्र अधिकारी, शितगंगाका नगरपालिका प्रवक्ता दामोदर न्यौपाने, वडा नम्बर ९ का अध्यक्ष भिम केसी, ११ का अध्यक्ष नवराज भुसाल, १२ का अध्यक्ष चोपबहादुर घम  कपिलवस्तुका वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो।

प्रकाशित: २२ वैशाख २०८२ १८:०३ सोमबार