समाज

कोशी र मधेशमा हुरीसहित वर्षा, बागमती र गण्डकीमा हिमपात

आज पनि देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसका कारण आज पनि कोशी, मधेश प्रदेश, बागमती प्रदेश लगायतका भू–भागमा पानी पर्नेछ।

महाशाखाले आज पनि कोशी र मधेस प्रदेशमा हुरीसहित वर्षाको सम्भावना रहेको बताएको छ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ।  

महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थानहरूमा, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।  

यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेश र कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा हावा–हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति भने देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।

भोलि शुक्रवार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशका पहाडी भू–भागका थोरै स्थानहरुमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।  

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षाको समेत सम्भावना रहेको छ।  

कोशी, बागमती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित: ८ चैत्र २०८० ०६:२२ बिहीबार

वर्षा मौसम मौसम पूर्वानुमान महाशाखा मधेश प्रदेश बागमती प्रदेश हुरीसहित वर्षा