समाज

धरानमा इतिहास झल्काउने ‘आरा धारान’ को प्रतिमा

श्रम संस्कृति पार्कमा मंगलबार अनावरण गरिएको आरा धरानको प्रतिमा। तस्बिर: रोहित राई

भूपू लाहुरेहरूको सहर भनेर परिचित धरान सहरको नाम कसरी रहन गयो भन्नेबारे यहीका पछिल्लो पुस्ता पनि अनभिज्ञ छन्।

मुख्य बजार क्षेत्र भानु चोकमा आदिकवि भानुभक्तको अर्धकद प्रतिमा छ भने हङकङको नक्कल गरेर निर्माण गरिएको घण्टाघर ठडिएको छ। यी दुवै संरचनाको धरानको इतिहाससँग साइनो छैन। इतिहासमा अहिलेको धरान सहर बसेको ठाउँमा घना जंगल थियो भने विजयपुर गढीमा मानव बस्ती थियो।

घना जंगलमा फडानी गरेर काठ चिर्न आरावालाहरुले धराप (धरान) बनाउँथे। त्यही धरापबाट पूर्वको आधुनिक सहर धरान नाम रहन गएको र हालको आधुनिक सहर धरान भएको मानिन्छ।

यही इतिहास झल्कने गरी हाल धरानको वडा नं २० स्थित श्रम संस्कृति पार्कमा प्रतिमा राखिएको छ। कलाकार रोजन राईद्वारा निर्माण गरिएको उक्त प्रतिमा आरा धरानको मंगलबार अनावरण गरिएको छ।

धरानका मेयर हर्क साम्पाङ र स्वतन्त्र नागरिक समाजका अध्यक्ष दत्तकुमार लिम्बुले संयुक्तरुपमा प्रतिमाको अनावरण गरेका हुन्। उपमेयर अइन्द्रबिक्रम बेघा काठमाण्डौं यात्रामा भएकोले अनावरणमा सहभागी भएनन्।

मेयर साम्पाङले धरानको नाम कसरी रहेको हो भनेर सबैलाई बुझाउन आरा धरानको प्रतिमा निर्माण गरिएको बताए।

यो प्रतिमा भानु चोक वा तीनकुनेमा राख्नुपर्ने माग भइरहे पनि त्यहाँ पहिल्यै अरू सालिक भएकोले राख्न सम्भव नभएको पनि उनले बताए।

‘धरानको चिनारी र इतिहास हो आरा धरान। हाम्रा पुर्खाहरुले धरानको नाम कसरी रह्यो भन्ने हामीले सुन्यौँ, अब हाम्रा सन्ततीहरुले पनि बुझ्नेछन्,’उनले भने, ‘आरा धरान र यो जस्तै अरू संरचनाहरु हाम्रो सम्पत्ति हो, यसको सुरक्षा गर्ने जिम्मेवारी सबैको हो।’

आरा धरानको परिसरमा फाइबरको फलैँचा राखिने र बगैँचा पनि बनाइने उनले बताए।

कलाकार राईका अनुसार प्रतिमाको लागि उपमहानगरपालिकाबाट भ्याटसहित ९ लाख ८४ रुपैयाँ रहेकोमा ८ लाख ५५ प्राप्त भएको उनले बताए। साथै, प्रतिमा निर्माणमा ३ लाख बढी रकम आफ्नो तर्फबाट योगदान गरेको पनि उनले बताए।

आरा धरानको सुरक्षाको लागि थप रेलिङ निर्माणमा ४८ हजार खर्च भएकोले र उक्त रकम मेयर साम्पाङले उपलब्ध गराउने प्रतिबद्धता जनाएको पनि कलाकार राईले बताए।

प्रकाशित: २ श्रावण २०८० १३:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App