लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ। प्रदेश सभाको सातौँ अधिवेशनको पहिलो बैठक आज दिउँसो १ बजे बस्दैछ।
प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरका अनुसार बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ। कार्यसूचीअनुसार बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त तीनवटा पत्र पढेर सुनाउने छन्। ती पत्रमा सातौँ अधिवेशन आह्वानसम्बन्धी सूचना, मन्त्रिपरिषद् पुनर्गठनबारे पत्र र छैटौँ अधिवेशनबाट पारित भई प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्र समावेश छन्।
बैठकमा सभामुख तुलबहादुर घर्तीले प्रदेशसभा सदस्यहरूको उपस्थिति–अनुपस्थितिको जानकारी पेस गर्ने कार्यसूची छ। त्यसपछि दलका तर्फबाट प्रदेशसभा सदस्यले शुभकामना मन्तव्य राख्ने कार्यक्रम रहने सचिव पुनमगरले बताए।
हिउँदे अधिवेशनका लागि छलफल गर्न प्रदेशसभा सचिवालयमा जिल्लासभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भइसकेका छन्। प्रदेश मन्त्रिपरिषद् बैठकबाट थप विधेयक प्रदेश सभामा पेस गर्नका लागि स्वीकृति दिएको छ।
लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक, प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक, दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक पेस गर्न सरकारले स्वीकृत दिएको हो। लुम्बिनीमा गत भदौ ३१ गते छैटौँ अर्थात वर्षे अधिवेशन अन्त्य भएको थियो।
यसअघि आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाका लागि पेस गर्न केही बिजनेस तयारी गरेको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले पेस गरेको प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक प्रदेश सभामा पठाउन बैठकले स्वीकृति प्रदान गरेको छ। सामाजिक विकास मन्त्रालयबाट दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक तथा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमसम्बन्धी कार्यविधि, २०८२ पनि बैठकले पारित गरेको छ।
प्रकाशित: ८ मंसिर २०८२ १०:३३ सोमबार



