राजनीति

किन गले प्रचण्ड ?

कुनै समय नेपाली राजनीतिमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नाम आफैँ एउटा शक्ति थियो। राज्यसत्तालाई चुनौती दिँदै भूमिगत जीवनबाट सशस्त्र विद्रोहको नेतृत्व गरेका प्रचण्ड शान्ति प्रक्रियामा आएपछि तिनै विद्रोही शक्तिलाई संसदीय राजनीतिमा स्थापित गर्ने पात्र बने।  

हिजो बन्दुक बोकेको माओवादी आन्दोलनलाई निर्वाचन, संविधानसभा र गणतन्त्रको राजनीतिक मूलधारमा ल्याउने नेतृत्व उनकै थियो।

१० वर्षे सशस्त्र द्वन्द्वको नेतृत्वदेखि प्रधानमन्त्रीको कुर्सीसम्मको उनको यात्रा नेपाली राजनीतिको असाधारण अध्याय नै हो।  

कुनै समय देशको राजनीतिको केन्द्रमा रहेका, सत्ता समीकरणको दिशा बदल्न सक्ने र ठूला दलका नेताहरूलाई आफ्नो वरिपरि घुमाउन सक्ने हैसियतमा रहेका प्रचण्ड आज भने त्यही उचाइबाट क्रमशः खुम्चिँदै गएको देखिन्छन्।

अहिले उनकै मुखबाट निस्किएको छ, ‘हामीले हाम्रो गल्ती र कमजोरी नै देखेनौँ।’

यो सामान्य राजनीतिक भाषण होइन। यो एउटा लामो राजनीतिक यात्राको थकान, असफलताको स्वीकारोक्ति र विगतलाई फर्केर हेर्ने बाध्यताको अभिव्यक्ति पनि हो।

बन्दुकदेखि सत्ताको शिखरसम्म

प्रचण्डको राजनीतिक उदय संघर्षबाट भएको थियो। तत्कालीन राज्यसत्ताविरुद्ध विद्रोहको बाटो रोज्दै माओवादी आन्दोलनलाई देशव्यापी बनाएका उनले हजारौँ कार्यकर्तालाई संघर्ष र बलिदानको बाटोमा अघि बढाए। अन्ततः त्यही आन्दोलन शान्ति प्रक्रियामा आयो र नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रतर्फ अघि बढ्यो।

राजतन्त्रको अन्त्य, गणतन्त्र स्थापना, संविधानसभा निर्वाचन र नयाँ संविधान निर्माणको प्रक्रियामा प्रचण्ड निर्णायक राजनीतिक पात्र बने।

२०६४ को संविधानसभा निर्वाचनपछि माओवादी देशकै सबैभन्दा ठूलो राजनीतिक दल बन्यो। हिजो राज्यसत्ताविरुद्ध युद्ध लडेको नेतृत्व जनताको ठूलो मतसहित सत्तामा पुग्यो। प्रचण्ड प्रधानमन्त्री बने।

त्यो क्षणमा प्रचण्डसँग केवल पद थिएन, ठूलो राजनीतिक जनादेश थियो। सडकमा शक्ति थियो, संसद्मा संख्या थियो र परिवर्तनको एजेण्डामाथि जनताको विश्वास थियो।

तर त्यो उचाइ लामो समय टिकेन।

सत्तासँगको सम्बन्ध, तत्कालीन राजनीतिक शक्तिहरूसँगको टकराव र नेतृत्वशैलीका कारण पहिलो प्रधानमन्त्रीत्वकाल नै संकटमा पर्‍यो। त्यसपछि सुरु भयो सत्ता समीकरणको लामो खेल।

कहिले निर्णायक, कहिले निर्णायकको भरमा

प्रचण्डको पछिल्लो राजनीतिक जीवनको एउटा पक्ष उनी कहिले सत्ता निर्माण गर्ने पात्र बने, कहिले सत्ता जोगाउन गठबन्धन खोज्ने पात्र।

नेकपा एमालेसँगको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टीले करिब दुईतिहाइ नजिकको शक्तिसहित सरकार बनायो। त्यो नेपाली कम्युनिस्ट आन्दोलनको सबैभन्दा ठूलो राजनीतिक सफलता थियो।

तर त्यही एकता टिकेन।

नेकपाको विघटनसँगै कम्युनिस्ट आन्दोलन फेरि विभाजित भयो। एमाले र माओवादी अलग भए। त्यसपछि प्रचण्डको राजनीतिक शक्ति पनि पहिलेको तुलनामा क्रमशः संकुचित हुँदै गयो।

कुनै समय आफ्नै नेतृत्वमा देशको सबैभन्दा ठूलो कम्युनिस्ट शक्ति निर्माण गरेका प्रचण्ड अन्ततः सत्तामा टिकिरहन गठबन्धनको गणितमा निर्भर हुन थाले।

यहीँबाट उनको राजनीतिक यात्राको अर्को विडम्बना देखिन्छ । जसले अरूलाई सत्ता समीकरणमा ल्याउने शक्ति राख्थ्यो, ऊ आफैँ सत्ता समीकरणको खोजीमा निर्भर हुन थाल्यो।

निजी जीवनको पीडा पनि उस्तै  

प्रचण्डको राजनीतिक कमजोरीलाई केवल चुनावी अंकगणित वा पार्टी विभाजनबाट मात्र हेर्न मिल्दैन। उनको व्यक्तिगत जीवन पनि असाधारण पीडाबाट गुज्रिएको छ।

द्वन्द्वकालदेखि परिवारमाथि परेको क्षति, छोरा प्रकाश र छोरी ज्ञानुको निधन तथा जीवनसंगिनी सीता दाहालको निधनले प्रचण्डलाई व्यक्तिगत रूपमा गहिरो चोट दिएको छ।

एकातिर हजारौँ कार्यकर्ताको बलिदान बोकेर हिँड्नुपर्ने राजनीतिक जिम्मेवारी, अर्कोतिर आफ्नै परिवारमा लगातार थपिँदै गएको क्षतिले सधैँ पीडित बने प्रचण्ड । तर पीडैपीडाका बीचमा पनि उनले आफ्नो राजनीतिक यात्रा अघि बढाइरहेका छन् ।  

सार्वजनिक जीवनमा देखिने प्रचण्डको आक्रामक राजनीतिक व्यक्तित्वभित्र पछिल्ला वर्षमा एउटा थकित र शोकाकुल व्यक्तित्व पनि देखिन थालेको छ।

आफ्नै एजेण्डाबाट बनेको संविधान, आँखैअगाडि संकटमा

प्रचण्डले नेतृत्व गरेको माओवादी आन्दोलनको एउटा ठूलो उपलब्धि संविधानसभा हुँदै संविधान निर्माण थियो।

संघीयता, गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षताजस्ता राजनीतिक परिवर्तनका एजेण्डालाई संस्थागत गर्ने प्रक्रियामा माओवादीको भूमिका निर्णायक थियो।

तर विडम्बना के भयो भने आफ्नै आन्दोलनले उठाएका एजेण्डाबाट बनेको संविधान र त्यसबाट स्थापित राजनीतिक व्यवस्थाप्रति जनताको असन्तुष्टि बढ्दै गयो।

व्यवस्था परिवर्तन भयो, तर जनताको दैनिक जीवनमा अपेक्षित परिवर्तन आएन। राजनीतिक दलप्रति वितृष्णा बढ्यो। नेताहरूको जीवनशैली र आमनागरिकको जीवनबीच दूरी बढ्दै गयो। रोजगारी, सुशासन, भ्रष्टाचार, सेवा प्रवाह र आर्थिक अवसरका प्रश्नले राजनीतिक उपलब्धिमाथि नै प्रश्न उठाउन थाले।

यसको राजनीतिक मूल्य सबैभन्दा बढी पुराना परिवर्तनकारी शक्तिले चुकाउनुपर्‍यो।

प्रचण्ड स्वयं पनि त्यसको अपवाद रहेनन्।

ठूलो दलबाट खुम्चिएको शक्ति

कुनै समय देशकै सबैभन्दा ठूलो दलको नेतृत्व गरेका प्रचण्ड आज सीमित संगठनात्मक शक्तिको नेतृत्व गरिरहेका छन्। सत्ता निर्माणमा उनको भूमिका अझै महत्त्वपूर्ण भए पनि जनमतको आधारमा उनी पहिलेको अवस्थामा छैनन्।

यही राजनीतिक क्षयीकरणले आजको प्रचण्डलाई हिजोको प्रचण्डसँग तुलना गर्न बाध्य बनाउँछ।

हिजो उनी परिवर्तनको प्रतीक थिए। आज उनी आफैँले ल्याएको परिवर्तन जोगाउनुपर्ने अवस्थामा छन्।

हिजो उनी आन्दोलनको नेतृत्व गर्दै अरूलाई प्रश्न गर्थे। आज आफ्नै आन्दोलन, आफ्नै पार्टी र आफ्नै नेतृत्वमाथि प्रश्न उठाउनुपर्ने अवस्थामा पुगेका छन्।

आत्मसमीक्षा स्वीकारोक्ति कि राजनीतिक रणनीति ?

आइतबार कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठनसम्बन्धी अन्तरक्रियामा प्रचण्डले कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुग्नुको मूल कारणबारे गम्भीर समीक्षा गर्नुपर्ने बताए।

उनले नेपाली जनताले कम्युनिस्टलाई पटक–पटक विश्वास गरेको, ठूलो त्याग र बलिदानमा साथ दिएको तथा निर्वाचनमा अत्यधिक मत दिएको स्मरण गर्दै त्यति ठूलो जनसमर्थन हुँदाहुँदै उपलब्धि जोगाउन नसक्नु गम्भीर प्रश्न भएको बताए।

कम्युनिस्टहरूले आफ्ना गम्भीर त्रुटि पहिचान गर्न नसकेको भन्ने विषय उनको सबैभन्दा महत्वपूर्ण स्वीकारोक्ति थियो । यो अभिव्यक्ति आफैँमा प्रचण्डको राजनीतिक अवस्थाको ऐना हो।

किनकि समस्या बाहिर मात्र देख्ने नेतृत्व अन्ततः आत्मसमीक्षामा पुग्दैन। प्रचण्डले अहिले बाह्य हस्तक्षेप, प्रतिक्रान्ति र साम्राज्यवादी दबाबको कुरा गरे पनि त्यससँगै कम्युनिस्ट नेतृत्वका आफ्नै गल्तीलाई पनि कारणका रूपमा स्वीकार गरेका छन्।

उनले भनेका छन्, ‘गल्ती कहाँ भयो र मुख्य गल्ती के थियो भन्ने निष्कर्षमा नपुगेसम्म कम्युनिस्ट एकता पनि दिगो हुन सक्दैन।’

अर्थात्, आज प्रचण्डले अरूलाई मात्र दोष दिएर उम्किने अवस्था नरहेको स्वीकार गरेका छन्।

तर मुख्य गल्ती के थियो ? यसको जवाफ प्रचण्डले खोजेका छैनन् । स्पष्ट उत्तर दिन सकेका छैनन्।

सत्तामा पुगेपछि जनताबाट टाढिनु, नेतृत्वभित्रको व्यक्तिवादी प्रवृत्ति, पार्टी एकतालाई विचारभन्दा सत्ता र पदको समीकरणमा मात्र जोड्नु, भ्रष्टाचार र सुशासनका प्रश्नमा कम्युनिस्ट नेतृत्व असफल हुनु वा कार्यकर्ता र जनताबीचको सम्बन्ध कमजोर बन्नु अथवा नेतृत्वले परिवर्तनको राजनीतिक एजेण्डालाई आर्थिक परिवर्तनसँग जोड्न नसक्नु के हो भोलि उनले समीक्षा गर्दै भन्लान् त्या दिन आउन बाँकी छ। यी विषयको आत्मसमीक्षा गर्दै जनतासँग विगतमा गरेका वाचाको कामले जवाफ दिन सकेभनेमात्र उनीमाथिको विश्वास फर्कन सक्छ ।

दश वर्षे युद्धको स्मृति, हजारौँ शहीद परिवारको प्रश्न, आफ्नै परिवारको असह्य क्षति, सत्तामा पुगेपछि पूरा गर्न नसकिएका वाचा, पटक–पटकको पार्टी विभाजन, नेकपाको विघटन, खुम्चिँदो जनाधार र परिवर्तनमाथि उठिरहेको प्रश्नको भार प्रचण्डले एक्लै थेगिरहेका छन् ।  

त्यसमाथि आज उनले नेतृत्व गरेको कम्युनिस्ट आन्दोलन नै रक्षात्मक अवस्थामा पुगेको देखिरहेका छन्।

कहिले देशको राजनीतिको केन्द्रमा रहेका प्रचण्डले आज आफ्नै राजनीतिक विरासत जोगाउन कम्युनिस्ट शक्तिहरूलाई फेरि एक ठाउँमा आउन आह्वान गर्नुपरेको छ।

त्यसैले आजको प्रचण्डमा हिजोको गर्जन कम र आत्मसमीक्षाको स्वर बढी सुनिन्छ।

अब प्रचण्डले प्रधानमन्त्री बन्ने वा अर्को सत्ता समीकरण बनाउने मात्र होइन। आफूले नेतृत्व गरेको आन्दोलनलाई इतिहासको सफल अध्यायका रूपमा छाड्न सक्छन् कि त्यसका कमजोरी र असफलताको निर्मम समीक्षा गरेर नयाँ राजनीतिक बाटो तय गर्न सक्लान् भन्ने प्रश्न उनी निकटकाले गर्न थालेका छन् ।

यी नै विषयको समीक्षा गर्दै उनले कम्युनिस्ट एकता, सहकार्य र पुनर्गठनको कुरा पटक पटक उठाउने गरेका छन्, तर विगतका समीकरण अनुभवले मिलेको वर्षदिन नै नपुगी टुटेको नमिठो सम्झना पनि उसैगरी आउँदो हो, अलि थकित बनेका प्रचण्डलाई ।

प्रकाशित: ७ भाद्र २०८३ १६:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App