राजनीति

‘सिंह बनेर सिंहदरबार छिर्नेहरू किन बिरालो भएर निस्कन्छन्?’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा प्रतिनिधिसभा सदस्य राजीव खत्रीले सिंहदरबार प्रवेश गर्दा ठूलो जोस, आत्मविश्वास र परिवर्तनको संकल्प बोकेका नेताहरू केही समयपछि कमजोर र निराश भएर बाहिरिनुपर्ने अवस्थाबारे प्रश्न उठाएका छन्।

नागरिक अनलाइनसँगको कुराकानीमा खत्रीले सिंहदरबार प्रवेश गरेपछि नेताहरूको सोच, व्यवहार र कार्यक्षमतामा किन परिवर्तन आउँछ भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक रहेको बताए।

उनले प्रश्न गरे, ‘सिंह बनेर सिंहदरबार छिर्नेहरू किन बिरालो भएर निस्कन्छन्?’

खत्रीका अनुसार विगतमा सिंहदरबार प्रवेश गर्दा नेताहरूमा देखिने उत्साह, आक्रामकता र परिवर्तनको हुटहुटी उनीहरू बाहिरिँदा उस्तै रहँदैन। उनले नेपाली कम्युनिष्ट पार्टीका संयोजक तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उदाहरण दिँदै विगत र वर्तमानको अवस्थालाई तुलना गर्नुपर्ने बताए।

‘विगतमा सिंहदरबार छिर्दा प्रचण्डको ताप हेर्नुहोस्। अहिले प्रचण्डलाई हेर्नुहोस्,’ उनले भने, ‘जुन राप र जोसका साथ सिंहदरबार छिर्नुभएको थियो, त्यही रापमा फर्किनुभएको देखिँदैन।’

खत्रीले सिंहदरबारभित्र प्रवेश गरेपछि नेताहरूले आफूले सोचेजस्तो काम गर्न नसक्नुको कारण खोज्नुपर्ने बताए। सत्ता र शक्तिको केन्द्रमा पुगेपछि सुधार र परिवर्तनका लागि गरिएका प्रतिबद्धता व्यवहारमा कमजोर हुँदै जाने प्रवृत्तिले राजनीतिक नेतृत्वप्रति जनताको विश्वाससमेत कमजोर बनाएको उनको भनाइ छ।

खत्रीले सिंहदरबारको संरचना, राजनीतिक संस्कार र त्यहाँको कार्यशैलीबारे नै प्रश्न उठाएका छन्।

‘खास के छ सिंहदरबारमा?’ भन्दै उनले सिंहदरबार प्रवेश गरेपछि कतिपय नेता किन आफ्नो प्रारम्भिक अडान र प्रतिबद्धताबाट पछि हट्छन् भन्ने विषयमा गम्भीर अध्ययन हुनुपर्ने बताए।

उनका अनुसार सिंहदरबार प्रवेश गर्नुअघि परिवर्तनको ठूलो सपना देखाउने र सत्ता वा जिम्मेवारीमा पुगेपछि त्यहीअनुसार काम गर्न नसक्ने प्रवृत्ति नेपाली राजनीतिमा लामो समयदेखि देखिँदै आएको छ।

खत्रीले सिंहदरबारबाट बाहिरिँदा धेरै नेता कलंकित हुने तथा कतिपय प्रताडित हुने अवस्था समेत देखिएको बताए।

उनले भने, ‘कोही कलंकित भएर निस्कन्छन्, धेरै उदाहरण छन्।’

राजनीतिक नेतृत्व सिंहदरबार प्रवेश गरेपछि उसले जनअपेक्षाअनुसार काम गर्न नसक्नुका कारण केवल व्यक्तिमा खोजेर नहुने भन्दै खत्रीले प्रणाली र कार्यशैलीमाथि पनि प्रश्न गर्नुपर्ने धारणा राखे।

सिंहदरबार प्रवेश गर्नेहरूलाई नै कमजोर बनाउने वा उनीहरूको प्रारम्भिक संकल्पलाई परिवर्तन गरिदिने त्यहाँको संरचनामा के छ? भन्ने प्रश्नको जवाफ खोज्नुपर्ने उनको भनाइ छ।

खत्रीले राजनीतिक नेतृत्व किन आफ्नो अडानमा टिक्न सक्दैन, किन कतिपय नेता विवाद र आरोपमा मुछिएर बाहिरिन्छन् र किन कतिपयले जिम्मेवारी पूरा गर्न नसक्ने अवस्था आउँछ भन्ने विषयमा आत्मसमीक्षा आवश्यक रहेको बताए।

सिंहदरबारबाट बाहिरिँदा नेताहरूको राजनीतिक ‘राप’ किन घट्छ भन्ने प्रश्नको जवाफ खोज्न सके मात्रै शासन प्रणालीप्रतिको जनविश्वास बलियो बनाउन सकिने उनको संकेत छ।

प्रकाशित: २७ श्रावण २०८३ १७:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App