राजनीति

सन्तोष परियारले किन छाडे रास्वपा?

पूर्व मन्त्री सुमना श्रेष्ठपछि निवर्तमान सांसद सन्तोष परियारले पनि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) छाडेका छन्। परियार विघटित प्रतिनिधिसभामा रास्वपा संसदीय दलका प्रमुख सचेतक थिए। 

संसद्मा हुने वादविवादमा सभापति रवि लामिछानेको पक्षमा दर्बिलो प्रस्तुति दिने परियारले शुक्रबार पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई राजीनामा बुझाइसकेका छन्। उनले पार्टीको कुनै पदबाट मात्र नभई साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन्। 

राजीनामा पत्रमा उनले ‘रास्वपाको सदस्य भएर वैकल्पिक राजनीतिक अभियानको एउटा सदस्य हुन पाएकोमा र नेपाली समाजको रूपान्तरणमा थोरै भए पनि राजनीतिक योगदान गर्न पाएकोमा वैकल्पिक राजनीतिक अभियानका सुरुवातकर्ता सबैप्रति नमन’ भनेर उल्लेख गरेका छन्। 

‘रास्वपाको सदस्य भइरहँदा मैले पार्टी र देशको हितमा इमानदार प्रयत्न गरेको छु,’ राजीनामा पत्रमा परियारले लेखेका छन्। 

परियार पछिल्लो समय भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि रास्वपामा नेतृत्व परिवर्तन र रूपान्तरणको मुद्दा उठाउनेमध्येका एक हुन्। उनले नख्खु कारागारबाट सभापति लामिछानेलाई  र्‍यालीसहित बाहिर निकालेकामा पार्टीलाई क्षति पुगेको भन्दै असन्तुष्टि पनि राख्दै आएका थिए। 

यस्तै उनी यथास्थितिमा पार्टी अघि बढ्न नसक्ने भन्दै मंसिरमा विशेष महाधिवेशन हुनुपर्ने भन्दै आवाज पनि उठाइरहेका थिए। तर, सभापति लामिछाने र उनको पक्षको दबदबा रहेको पार्टीमा उनको सुनुवाइ हुने कुरै भएन। बरु चर्को आलोचनाको सामना गरिरहेका थिए। 

यही कुराको संकेत परियारले राजीनामा पत्रमा पनि उल्लेख गरेका छन्। ‘निरन्तर पार्टीमा विचारको बहस गरिरहँदा त्यसलाई स्थापित गर्न नसक्दा मैले आफ्नै कमजोरीको रूपमा लिएको छु’, राजीनामा पत्रमा उनले लेखेका छन्,‘नेपाली समाजको विशिष्ट बनावट र चरित्र अनुसारको पार्टीको विचार निर्माण गर्न नसकिएकोमा पनि म दुखी छु।’ 

 

यो पनि पढ्नुहोस्

यस्तो छ रास्वपा छाडेपछि सन्तोष परियारले जारी गरेको वक्तव्य (पूर्णपाठ)

राजीनामा पत्रमै उनले जेनजी विद्रोहले ‘नेपाली राजनीतिको परम्परागत जडतालाई खारेज गरिदिएको’ भनेका छन्। ‘यो आन्दोलनले यथावस्थामा अब नेपाली राजनीति अगाडि जान नसक्ने र नवयुगको नेतृत्व गर्न नसक्ने प्रमाणित भएको छ,’ उनले अगाडि लेखेका छन्, ‘जेनजी विद्रोहले समकालीन नेपाली समाजको चेतना निर्माणमा निकै ठुलो भूमिका खेलिरहेको छ भन्ने मेरो बुझाई हो ।’ 

त्यसका लागि हरेक राजनीतिक पार्टी र व्यक्तिले पनि आगामी नेपाली राजनीतिलाई अझ फराकिलो हिसाबमा सोच्नुपर्ने अवस्था आएको परियारले भनेका छन्। ‘यसका लागि नेपाली राजनीतिक आन्दोलनको पुनर्संरचना, अवधारणाहरूको पुन परिभाषा र सङ्गठनहरूको पुनर्गठन गर्नुपर्ने ऐतिहासिक जिम्मेवारी हाम्रो पुस्ताको काँधमा आएको छ,’ परियारले राजीनामा पत्रमा उल्लेख गरेका छन्। 

यही कारण नेपाली राजनीतिक आन्दोलनलाई साँचो अर्थमा राष्ट्र हित र जनताको जीवनसँग जोड्न आफू ‘फरक खालको राजनीतिक अभियान’मा सक्रिय हुनुपर्ने स्थिति आएको उनले भनेका छन्।

यस्तै शुक्रबारकै मितिदेखि आफू रास्वपाको कुनै पनि जिम्मेवारीमा नरहने र पार्टीको साधरण सदस्यसम्म नरहने उनले जनाएका छन्। 

‘रास्वपामा रहेर विभिन्न भूमिकामा काम गरिरहँदा मलाई साथ र सहयोग गर्ने सबै रास्वपाका प्रिय साथीहरुप्रति आभारी छु,’ परियारले लेखेका छन्, ‘यो देश निर्माणको क्रममा समाज रूपान्तरणको क्रममा अनि आम नेपाली नगरिकको जीवनलाई गुणस्तरीय, सुरक्षित र समृद्ध बनाउने राजनीतिक यात्रामा फेरि भेटियो भने, मिठो सहकार्य हुनेछ।’ 

कहाँ जाँदैछन्? 

रास्वपा छाडेपछि ‘फरक राजनीतिक अभियान’मा जोडिने भनेका परियारले आफै कहाँ जाने? कस्तो खाले अभियानमा संलग्न हुने? भनेर खोलेका छैनन्।

तर हाल उनी माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका वाम घटकको एकता प्रक्रियामा नगएका नेता जनार्दन शर्मासँग छलफलमा रहेको स्रोत बताउँछ।

शर्माले माओवादी केन्द्र छाडेर ‘प्रगतिशील राष्ट्रिय अभियान’ भनेर नयाँ अभ्यासको घोषणा गरिसकेका छन्। 

प्रकाशित: २८ कार्तिक २०८२ १५:१४ शुक्रबार