राजनीति

रास्वपा सभापति लामिछानेले किन बोलाए मन्त्रीसहितको विशेष बैठक ?

फाइल तस्बिर

सरकार र पार्टीका सांसदबिच देखिएको असमझदारी तथा संसद्‌मा देखिएका गतिविधिका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्रीहरूसहितको बैठक बोलाएको छ।

बिहान ११ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने उक्त बैठकमा सभापति रवि लामिछानेले सांसदहरूलाई संसद्‌मा प्रस्तुत हुँदा अपनाउनुपर्ने आचरण र गरिमाका विषयमा निर्देशन दिनेछन्। 

पार्टी सचेतक क्रान्तिशिखा धितालका अनुसार पछिल्लो समय संसद् बैठकमा सांसदहरूको उपस्थिति र प्रस्तुतिलाई लिएर पार्टीभित्र गम्भीर समीक्षा हुँदैछ। संसद् र मन्त्रिपरिषद्‌को बैठकअघि यो विशेष बैठक बस्न लागेको हो। यो विशेष बैठकमा मन्त्रीहरूसँग समन्वय गर्ने र सांसदहरूले संसद्‌मा उठाउने विषयहरूलाई अझ बढी परिपक्व र तथ्यपरक बनाउने विषयमा कुराकानी हुनेछ। आज दिउँसो १ बजे प्रतिनिधिसभा र ३ बजे मन्त्रिपरिषद्‌को बैठक बस्दै छ।

सचेतक धितालले भनिन्, 'संसद्‌मा सांसदहरूको गरिमा र मर्यादाभन्दा पनि अभियन्ताकै रूपमा प्रस्तुत भएको देखियो। सरकारको विपक्षमा बोलेपछि मात्र राम्रो हुन्छ भन्ने जुन मनसाय देखिएको छ, त्यो अलिकति गलत भयो।'

उनले थप भनिन्, 'मन्त्रालयमा गएर सम्बन्धित निकायसँग कुरा बुझेर मात्रै संसद्‌मा प्रश्न उठाउनुपर्नेमा सिधै सदनमा असन्तुष्टि मात्र पोख्ने प्रवृत्ति बढेको छ। गरिमा बोकेको ठाउँमा उहाँहरूको उपस्थिति र व्यवहारले गरिमा नै खस्किएको जस्तो महसुस हुन्छ। समाज अहिले धेरै रियाक्टिभ बनिराखेको छ, जसले गर्दा कन्टेन्टभन्दा पनि मान्छे पपुलिजमतिर आकर्षित भएको देखिन्छ। एक जना व्यक्तिको कारण सिंगो सदन बदनाम हुन मिल्दैन।'

रास्वपाले संसद्‌मा प्रभावकारी र जिम्मेवार भूमिका निर्वाह गर्न तथा जनताप्रति उत्तरदायी भएर प्रस्तुत हुन आफ्ना सांसदहरूलाई सचेत गराउने तयारी गरेको छ।

प्रकाशित: ३ भाद्र २०८३ १०:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App