राजेन्द्र महत्तो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव केशवकुमार झासहित नौ जना केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले पार्टीबाट राजीनामा दिएका छन्।
झा सहित चन्द्रानन्द मिश्र, पंकजकुमार देव, हिरालाल मण्डल, अनुपम झा, रिपिका जलान, कुमारी तामाङ, ललन मिश्र र शैशव राजुले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन्। उनीहरूले शुक्रबारदेखि लागू हुने गरी पार्टीका सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन्।
राजीनामा दिएका नेताहरूले जारी गरेको विज्ञप्तिमा पछिल्ला राजनीतिक घटनाक्रमले पुरानो शैली र पुराना व्यक्तिहरूबाट देशको राजनीति अघि बढ्ने अवस्था नरहेको उल्लेख गरिएको छ। देशका जनता निराश रहेको र विभिन्न संघर्ष तथा आन्दोलन भए पनि जनताका न्यूनतम आवश्यकता पूरा हुन नसकेको उनीहरूको भनाइ छ।
मातृभूमिलाई सुहाउने वैचारिकीका आधारमा बलियो अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने अर्थ–राजनीतिको सहारा लिएर अघि बढ्नुपर्ने उल्लेख छ। सामाजिक–सांस्कृतिक चेतना विकासका लागि अभियानलाई निरन्तरता दिने, राजनीतिक चेतनाका लागि संघर्षमा जोड दिने र आर्थिक चेतनाका लागि विद्रोहको तयारी गर्ने उनीहरूले बताएका छन्।
औपनिवेशिकताको अन्त्य नभएसम्म लोकतन्त्रको प्रत्याभूति सम्भव नहुने र लोकतन्त्र तथा शान्तिबिना समृद्धि हासिल गर्न नसकिने निष्कर्षसहित आफूहरू पार्टीबाट अलग भएको विज्ञप्तिमा उल्लेख छ।
राजीनामा दिएका नेताहरूले अब ‘हुंकार मधेश अभियान’ मार्फत अघि बढ्ने बताएका छन्। समाजका विभिन्न क्षेत्रका सक्षम र योग्य व्यक्तित्वलाई एकताबद्ध गर्दै विस्तृत योजनासहित छिट्टै नयाँ राजनीतिक यात्राबारे सार्वजनिक रूपमा प्रस्तुत हुने उनीहरूको भनाइ छ।
महासचिव पदबाट राजीनामा दिएका केशवकुमार झाले भने , ‘नयाँ यात्रा गर्नका लागि तत्काल नयाँ अभियानमा लाग्ने र पछि राष्ट्रिय पार्टी बनाउने तयारीमा छौं,’ ।
.jpeg)
प्रकाशित: २ आश्विन २०८३ १४:२६ शुक्रबार



