राजनीति

जब शहीद परिवारले गगनलाई सोधे- हिजो छोरा मारियो, आज बाँचेको छोरा खाडी जानुपर्ने ?

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले द्वन्द्वकालमा छोरा गुमाएकी एक आमाको प्रश्नले आफूलाई निरुत्तर बनाएको स्मरण गर्दै ती आमालाई जवाफ दिनकै लागि पनि कांग्रेस सुध्रिनुपर्ने बताएका छन्।

आइतबार भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनलाई सम्बोध गर्दै महामन्त्री थापाले सुदूरपश्चिमको एक गाउँमा भेटिएकी शहीद परिवारकी आमाको प्रसंग कोट्याउँदै यस्तो बताएका हुन्।

‘केही समयअघि पश्चिमको एउटा गाउँमा पुग्दा एकजना वृद्ध आमासँग भेट भयो, जसको छोरा २०६० सालमा माओवादीबाट मारिएको थियो,’ महामन्त्री थापाले सुनाए, ‘ती आमाले मलाई आफ्नो बाँचेको अर्को छोरा देखाउँदै भन्नुभयो- बाबु, हिजो एउटा छोरा मारियो, आज यो बाँचेको एउटा छोरा पनि खाडी जानुपर्ने ? यो अवस्थाको अन्त्य कहिले हुन्छ ?’

महामन्त्री थापाले ती आमाको प्रश्न सुन्दा आफूसँग कुनै जवाफ नभएको स्वीकार गरे। ‘ती आमाको प्रश्नमा म निरुत्तर भएँ,’ उनले भने, ‘हिजो छोरा गुमाएका र आज बाँचेका सन्तानलाई पनि विदेश पठाउन बाध्य आमाबुबालाई हामीले के जवाफ दिने ?’

उनले देशका लाखौं युवा र ती आमाको प्रश्नको उत्तर दिनका लागि पनि अहिलेको कांग्रेसको नेतृत्व र कार्यशैली बदलिनुपर्नेमा जोड दिए।

‘ती आमालाई र देशका लाखौँ युवालाई उत्तर दिनका लागि पनि कांग्रेस सुध्रिनु जरुरी छ,’ थापाले भने, ‘यो विशेष महाधिवेशन केवल पार्टीको आन्तरिक कुरा होइन, यो त्यही गुमेको भरोसा फर्काउने र देशमै भविष्य देखाउने अभियान हो।’

प्रकाशित: २७ पुस २०८२ १९:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App