नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मंगलबार सुन्दरीजलस्थित बिपी संग्रहालय पुगेर कांग्रेसका संस्थापक नेता बिपी कोइरालासहित प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेताहरूको शालिकमा माल्यार्पण गरेका छन्।
नेता आङ्देम्बेले प्रजातन्त्र स्थापनाका लागि संघर्ष गरेका नेता बिपीसँगै गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, आफ्ना माइला ठूला बुबा प्रेमराज आङ्देम्बे, योगेन्द्रमान शेरचन, रामनारायण मिश्र र देवानसिंह राईलगायतप्रति पनि पुष्पगुच्छासहित श्रद्धाञ्जली व्यक्त गरेका थिए।
संग्रहालय परिसरमा रहेको स्मारक तथा शालिकहरूमा पुष्पगुच्छा अर्पण गर्दै उनले ती नेताहरूले देखाएको त्याग, बलिदान र लोकतान्त्रिक मूल्यको मार्गदर्शनलाई आजको पुस्ताले आत्मसात गर्नुपर्नेमा जोड दिए। नेपालको प्रजातान्त्रिक आन्दोलन र कांग्रेसको इतिहास ती नेताहरूको संघर्षविना अधुरो हुने उनको भनाइ थियो।
त्यस अवसरमा आङ्देम्बेले सुन्दरीजल कारागारको ऐतिहासिक महत्वबारे समेत जानकारी लिएका थिए। उनले तत्कालीन निरंकुश शासनका बेला नेताहरूलाई बन्दी बनाइ राखिएको कोठाहरू, उनीहरूले प्रयोग गरेका सामग्री तथा संग्रहालयमा सुरक्षित ऐतिहासिक दस्तावेजहरूको अवलोकन गरे।
नेताहरूले जेल जीवनका क्रममा भोगेका कठिनाइ, उनीहरूको अदम्य साहस र लोकतन्त्रप्रतिको प्रतिबद्धताले आजको राजनीतिक यात्रालाई प्रेरणा दिने नेता आङ्देम्बेको भनाइ थियो।
प्रकाशित: १६ वैशाख २०८३ ०७:३५ बुधबार



