राजनीति

निर्वाचनबारे सरकारको धारणा आएपछि मात्रै बोल्छौँ : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनका बेला लागू हुने आचारसंहिताका कारण सरकारका नियमित कामसमेत प्रभावित हुने बताएका छन्।

निर्वाचन आयोगबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै सभापति थापाले स्थानीय, प्रदेश र संघीय सरकार निर्वाचन आचारसंहिताका कारण लामो समयसम्म निर्णय प्रक्रियामा बाँधिने बताए।

उनले आफू मन्त्री हुँदा भोगेको अनुभव सुनाउँदै निर्वाचनको समयमा सरकारका कामकाज प्रभावित हुने बताए। उनले स्थानीय तहको निर्वाचनका बेला संघीय सरकारदेखि प्रदेश र स्थानीय सरकारसम्म आचारसंहिताको दायरामा रहने भएकाले महत्वपूर्ण निर्णय गर्न कठिन हुने बताए।

थापाले निर्वाचनको विषयमा सरकारले आफ्नो धारणा र प्रस्ताव स्पष्ट रूपमा राखेपछि मात्रै राजनीतिक दलहरूबीच छलफल हुन सक्ने बताए। सरकारले अहिलेसम्म औपचारिक रूपमा कुनै प्रस्ताव नल्याएको अवस्थामा सञ्चारमाध्यममा आएका समाचारका आधारमा दलहरूले धारणा बनाउनु उचित नहुने उनको भनाइ छ।

उनले भने,‘निर्वाचनको विषयमा पनि संविधान र कानुनमा स्पष्ट व्यवस्था छ। निर्वाचन चैत–वैशाखमा हुनुपर्ने व्यवस्था छ भने कात्तिक–मंसिरमा गर्ने भन्ने कुरा कहाँबाट आयो? निर्वाचनको मिति निर्धारण गर्ने विषयमा निर्वाचन आयोगले आफ्नो धारणा राख्नुपर्छ। सरकारले पनि आफ्नो धारणा स्पष्ट पार्नुपर्छ। सरकारले केही बोलेको छैन भन्दैमा पत्रपत्रिकामा आएका वा कसैले लेखेका कुराका आधारमा हामीले दलको धारणा बनाउँदै हिँड्नु उचित हुँदैन। निर्वाचन आयोगले आज प्रारम्भिक रूपमा केही कुरा राखेपछि मात्रै हामीले आफ्नो धारणा बनाउने हो।’

यस्तै, उनले संविधान र कानुनले तोकेको व्यवस्थाअनुसार निर्वाचन आयोगले निर्वाचनको मिति निर्धारण गर्ने र सरकारले पनि सोहीअनुसार प्रक्रिया अघि बढाउनुपर्ने बताए।

उनले भने,‘नेपाल सरकारले राजनीतिक दलहरूबीच आफ्ना धारणा र प्रस्ताव राखेर छलफल गराउँछ भने हामी पनि अन्य विषयमा आफ्ना मत राख्छौँ। पार्टीभित्र छलफल गर्छौँ, हेर्छौँ र बुझ्छौँ। अन्यथा, निर्वाचन आयोगले संविधान र कानुनअनुसार चैत–वैशाखमा निर्वाचन गर्ने गरी मिति तोक्ला र सरकारले पनि त्यसैअनुसार निर्णय गर्ला। त्यसपछि स्थानीय तहको निर्वाचन हुन्छ र आफ्नो समयमा प्रदेशको निर्वाचन हुन्छ। हामी पनि ती निर्वाचनमा आफ्नै हिसाबले सहभागी हुन्छौँ।’

यस्तै, उनले भारत भ्रमणमा जान लागेका प्रधानमन्त्रीले सुझाव मागेपछि मात्रै सुझाव दिने बताए। उनले भने,‘उहाँले सुझाव माग्नुभएको छ भने सुझाव दिइन्छ। सुझाव नमागेको अवस्थामा अनावश्यक रूपमा सुझाव दिँदै हिँड्नुपर्ने कुरा छैन।’

प्रकाशित: ४ मंसिर २०८३ १५:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App