नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र र बाहिरबाट विभिन्न चुनौती र अवरोध सिर्जना गरिए पनि एमाले कमजोर नहुने बताएका छन्।
अखिल नेपाल किसान महासङ्घ केन्द्रीय कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूहरूले निर्माण गरेर हुर्काएको पार्टीबाटै निष्कासन गर्ने प्रयास भएपनि त्यसको सामना गर्दै पार्टी पुनर्गठन गरेर अघि बढेको बताए।
उनले एमालेको इतिहासमा तीन पटक पार्टी पुनर्गठन भएको उल्लेख गर्दै २०१९ साल, २०२७/२८ साल र २०७७ सालका घटनालाई पार्टी पुनर्गठनका महत्त्वपूर्ण मोडका रूपमा व्याख्या गरे।
उनले भने, ‘हामीले बनाएर, हुर्काएर ल्याएको पार्टीबाट हामीलाई नै निष्कासन गर्ने काम भयो। तर हामी फेरि उठ्यौँ, पार्टी पुनर्गठन गर्यौँ। १ हजार ११ जना मानिसलाई पार्टीबाट निष्कासन गरिएको थियो, धेरैलाई निलम्बन गरिएको थियो। ती सबै कुराको वास्ता नगरी हामीले पार्टी पुनर्गठन गर्यौँ।’
२०७८ सालमा माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमलगायत नेताहरूको समूहले पार्टी विभाजन गरेपछि पनि आफूले एमाले जोगाएको बताए।
अध्यक्ष ओलीले एमाले चुनौतीसँग जुध्न अभ्यस्त पार्टी भएको भन्दै आगामी दिनमा पनि पार्टीलाई थप मजबुत बनाउने दाबी गरे।
नेकपा एमालेलाई देशको निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्ने र ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानबाट पार्टी पछि नहट्ने उनको भनाइ छ।
उनले एमालेमाथि देशी तथा विदेशी शक्तिको साथ लिएर प्रहार गर्ने प्रयास भए पनि पार्टी कमजोर नभएको दाबी गरे।
ओलीले एमालेका नेता तथा कार्यकर्तालाई ‘झोले’ भन्दै अपमान गर्ने र बहिष्कारको राजनीति गर्ने प्रवृत्तिको पनि आलोचना गरे।
‘हामीलाई कसैले बहिष्कार गर्छ कि गर्दैन भन्ने मतलब छैन,’ ओलीले भने, ‘अहिले पनि नेकपा एमाले नेपालको सबैभन्दा मजबुत देशभक्त शक्ति, लोकतान्त्रिक शक्ति, सुशासन र विकास दिन सक्ने शक्ति तथा स्पष्ट दृष्टिकोण भएको पार्टी हो।’
उनले एमालेले आगामी दिनमा पनि राष्ट्रिय राजनीति र विकास निर्माणको नेतृत्वदायी भूमिका निर्वाह गर्ने दाबी गरे।
प्रकाशित: १ मंसिर २०८३ १४:३९ मंगलबार


