नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधानले नेपालको बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक यथार्थतालाई स्वीकार गर्दै गणतन्त्र, समावेशिता, समानुपातिकता र नागरिक अधिकारलाई संस्थागत गरेको बताएका छन्।
संविधान दिवसका अवसरमा शुभकामना दिँदै थापाले संविधान जारी हुनु सात दशकभन्दा लामो संघर्ष र बलिदानको परिणाम भएको बताए।
उनले संविधान निर्माणको यात्रामा गिरिजाप्रसाद कोइराला, सुशील कोइरालालगायतका नेताहरूको योगदान स्मरण गर्दै नेपाली जनताले आफ्नो संविधान आफैँ लेख्ने लामो समयदेखिको सपना संविधान जारी भएसँगै पूरा भएको बताए।
‘यो संविधानले नेपालको बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक यथार्थतालाई स्वीकार मात्र गरेन, यसैको आधारमा गणतन्त्र, समावेशी, समानुपातिकता र नागरिकका अधिकारहरूलाई संस्थागत गर्ने काम पनि गर्यो,’ थापाले भने।
थापाले संविधानका आधारभूत मूल्य र मान्यताको संरक्षण गर्दै समयको मागअनुसार आवश्यक विषयमा संशोधन गर्नुपर्ने बताए। तर संशोधन संविधानका मूल्य र मान्यतालाई कमजोर बनाउने नभई थप विस्तार गर्ने दिशामा हुनुपर्ने उनको भनाइ छ।
‘समयको मागअनुसार संविधानमा कतिपय कुरा बदल्नुपर्ने छ, जसले संविधानका यी मूल्य र मान्यताहरूलाई खुम्च्याउने होइन, थप विस्तार गर्नेछ,’ उनले भने।
प्रकाशित: ३ आश्विन २०८३ ११:४३ शनिबार