राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद अनुस्का श्रेष्ठले नेपालले जलवायु परिवर्तनको मुद्दामा एडभोकेसीबाट अब डिप्लोमेसीतर्फ जानुपर्ने बताएकी छन्।
शुक्रबार संसदमा बोल्दै उनले हालै आएको भोटेकोशी बाढीको उदाहरण दिँदै जलवायु संकट अब वास्तविकता बनिसकेको बताइन्। अन्तर्राष्ट्रिय मञ्चमा नेपालले जलवायु न्यायको विषय उठाउनु आवश्यक भए पनि त्यतिमै सीमित हुन नहुने उनको भनाइ छ।
सांसद श्रेष्ठले वर्षौँको जलवायु एडभोकेसीबाट नेपालले कमाएको अन्तर्राष्ट्रिय सद्भावलाई दीर्घकालीन साझेदारी, वित्तीय सहयोग, प्रविधि र जलवायु जोखिमसँग जुध्ने क्षमतामा बदल्नुपर्नेमा जोड दिइन्। उनले राजदूत नियुक्त गर्दा सम्बन्धित मुलुकसँग जलवायु डिप्लोमेसी अघि बढाउन सक्ने क्षमतालाई पनि ध्यान दिन सरकारलाई आग्रह गरिन्।
संयुक्त राष्ट्र संघजस्ता अन्तर्राष्ट्रिय मञ्च महत्त्वपूर्ण भए पनि जलवायु डिप्लोमेसीलाई निरन्तर राष्ट्रिय रणनीति बनाउनुपर्नेमा उनको जोड छ।
प्रकाशित: २६ भाद्र २०८३ १४:१० शुक्रबार



