राजनीति

हामी तगडा हुन बाँकी छ : सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा नयाँ र फरक देखिए पनि आफूहरू अहिले नै ‘तगडा’ नभएको बताएका छन्। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा मंगलबार पर्यटन बोर्डको हलमा आयोजित कार्यक्रममा बोल्दै लामिछानेले नयाँ पुस्ताले अब कामबाट आफूलाई प्रमाणित गर्नुपर्ने चुनौती रहेको बताए। 

‘हामी एकदमै तगडा भयौँ भन्ने अहिले हामीले सोच्ने बेला भएको छैन । हामी फ्रेस मात्रै हौँ, तगडा हुन हामी बाँकी छौँ,’ उनले भने, ‘हामी फ्रेस देखिएका छौँ, नयाँ छौँ, भर्खरै आएका छौँ। नयाँ देखिएका अनुहार भएका कारण हामी केही फरक देखिएका जरुर हौँ। तर अब काम गरेर प्रमाणित गर्नुपर्ने चुनौती हामीसामु आएको छ।’ 

लामिछानेले रास्वपाले प्राप्त गरेको जनमत नेपालमा कुनै राजनीतिक दलले पहिलोपटक पाएको म्यान्डेट नभएको बताए। यसअघि पनि देशले नयाँ तथा युवा नेतृत्वलाई अवसर दिएको तर अपेक्षित परिणाम दिन नसक्दा लामो समयसम्म देशले दुःख पाएको उनको भनाइ थियो। 

उनले अहिलेको पुस्तामाथि देश र समाजले ठूलो आशा र भरोसा गरेको बताए। प्रविधिको विकासका कारण विश्वले हासिल गरेका ज्ञान र अवसरलाई उपयोग गर्न सक्ने अवस्था अहिलेको पुस्तासँग रहेको उल्लेख गर्दै उनले त्यसलाई देश विकासमा प्रयोग गर्नुपर्नेमा जोड दिए। 

देशका लागि अहिलेको सबैभन्दा ठूलो चुनौती रोजगारी सिर्जना गर्नु रहेको हुँदा देशले शिक्षा र पालनपोषणमा ठूलो लगानी गरेको युवा जनशक्ति अवसरको अभावमा विदेशिनुपर्ने अवस्था मुलुकका लागि ठूलो घाटा भएको उनको भनाइ छ।  

केही जान्न, सिक्न वा अध्ययन गर्न विदेश जानु सकारात्मक भए पनि परिवार पाल्नकै लागि बाध्य भएर ठूलो संख्यामा युवा विदेश जानुपर्ने अवस्था अन्त्य गर्नुपर्ने उनले बताए। 

‘देशले पढायो, देशले हुर्कायो। त्यसमा मुलुकको ठूलो लगानी परेको छ । तर त्यो लगानीले प्रतिफल दिने बेला आउँदा अवसर नपाएर आफ्नो परिवार पाल्न युवा विदेश जानु भनेको देशका लागि निकै ठूलो घाटा हो,’ उनले भने, ‘यो घाटालाई हामीले परिपूर्ति गर्नुपर्ने छ।’ 

अब भाषण र प्रतिबद्धता दोहोर्‍याउनेभन्दा त्यसलाई परिणाममा बदल्ने समय आएको उनको भनाइ थियो। 

‘भाषणमा त मैले पनि धेरैचोटी भनिसकेको छु । अब परिणाममा बदल्नुपर्ने बेला आएको छ,’ उनले भने, ‘हामी रोजगारी दिन्छौँ, कलकारखाना खोल्छौँ, उद्योग गर्छौँ, युवालाई स्वरोजगार बनाउने कार्यक्रम गर्छौँ, एन्टप्रेनरसिपलाई प्रमोट गर्छौँ भनेर भनिसक्यौँ । अब त्यो भनाइलाई परिणाममा बदल्ने समय आएको छ।’ 

प्रकाशित: २७ श्रावण २०८३ १७:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App