नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वगृहमन्त्री रमेश लेखकको वर्तमान सरकारले गरेको गिरफ्तारीप्रति नेकपा (एमाले) सुर्खेत र नेपाली कांग्रेस सुर्खेतले गम्भीर ध्यानाकर्षण जनाएका छन्।
दुबै दलले संयुक्त विज्ञप्ति जारी गरेर गिरफ्तारी पूर्वाग्रही, प्रतिशोधपूर्ण र लोकतान्त्रिक मूल्य विपरीत भएको आरोप लगाएका छन्। 'भदौ २३ र २४ गतेका घटनामा आयोगले तयार पारेको प्रतिवेदन अपूर्ण, एकपक्षीय र पूर्वाग्रहयुक्त रहेको छ भने आयोगको संरचना र उद्देश्य नै शंकास्पद रहेको निष्कर्षमा पुगिएको छ।', विज्ञप्तिमा भनिएको छ।
दलहरूका अनुसार आयोगले राजनीतिक र संवैधानिक विषयमा अनावश्यक टिप्पणी गर्दै शक्ति पृथकीकरणको सिद्धान्त उल्लंघन गरेको छ। त्यसै आधारमा गरिएको गिरफ्तारी लोकतन्त्र, विधिको शासन र नागरिक स्वतन्त्रताको उल्लंघन रहेको बताएका छन् ।
संयुक्त विज्ञप्तिमा अध्यक्ष ओली र नेता लेखकको तत्काल रिहाइको माग गर्नुको साथै पूर्वाग्रही आयोगको प्रतिवेदन खारेजको माग गरेका छन् । गत भदौ २३–२४ का घटनाको निष्पक्ष, स्वतन्त्र छानबिनका लागि नयाँ आयोग गठन गर्नुपर्ने उनीहरुको माग रहेको छ ।

प्रकाशित: १५ चैत्र २०८२ १३:४८ आइतबार



