उर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले एकताका लागि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले अघि सारेको प्रस्ताव अस्वीकार गरेको छ। शनिवार कुलमानकै उपस्थितिमा पार्टी कार्यालय त्रिपुरेश्वरमा बसेको केन्द्रीय समिति बैठकले पार्टीकै अस्तित्व नरहने गरी निः सर्त एकतामा जान नसकिने निर्णय गरेको हो।
पछिल्ला केही दिनयता काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) र रास्वपा सभापति रवि लामिछानेको भेटपछि विकसित पार्टी एकताको संवादमा कुलमानलाई पनि समेटेर लैजाने कुराकानी उठेको थियो। त्यसमा मूलतः बालेन समूहले जोड बल गरेको थियो।
दुई पक्षबिचको संवादमा पार्टीको नाम रास्वपा र चुनाव चिन्ह घण्टी नै रहने गरी मोटामोटी सहमति जुटेको बताइन्छ। यस्तै पार्टी सभापतिमा रवि नै रहने र आगामी प्रधानमन्त्रीको उम्मेदवार बालेनलाई अगाडि सार्नेमा पनि रास्वपा–बालेन पक्ष सहमत भएका थिए। यद्यपि बाँकी शक्ति बाँडफाँटको विषय भने टुंगिसकेको थिएन।
सोही बिचमा बालेनले रास्वपासँगको विकसित घटनाक्रमबारे शनिवार कुलमानसँग भेटेर सुनाएका थिए। सोही कुरा कुलमानले पार्टी बैठकमा ब्रिफिङ गरेको उज्यालो नेपाल पार्टीका एक केन्द्रीय सदस्यले बताए।
‘संरक्षक ज्युबाट रास्वपा–बालेन ज्युको समूहबिचको संवादमा भएको प्रगतिबारे ब्रिफिङ सुन्दा हाम्रोबारे खास्सै महत्त्व दिएको जस्तो सुनिएन,’ ती केन्द्रीय सदस्यले भने, ‘पावर सेयरिङ हुँदा हाम्रो पोजिसन के हुने? भन्ने प्रश्न रह्यो। त्यसबारे रास्वपाबाट आएको प्रस्ताव हामीले अस्वीकार नै गरेको भन्दा पनि हुन्छ।’
पार्टी रास्वपा नै हुने, उसैको चुनाव चिन्ह रहने, सभापति रवि नै हुने, प्रधानमन्त्री बालेन हुने, कुलमान र उज्यालो पार्टीको अस्तित्व नै नरहने एकतामा आफूहरू नजाने ती केन्द्रीय सदस्यले बताए।
त्यसका लागि उज्यालो नेपाल पार्टीमा दुई विकल्पमा छलफल भएको छ। ‘हामीले व्यक्तिगत सेटलमेन्टको कुरा गरेका होइनौँ। संस्थागत सम्बोधनको कुरा गरेका छौँ,’ ती नेताले भने।
पहिलो सर्त–यस्तोमा चुनाव चिन्ह उज्यालो नेपाल पार्टीको हुनुपर्ने रहेको ती नेताले बताए। उज्यालोको चुनाव चिन्ह ‘बलिरहेको चिम’ छ।
त्यो नभए संरक्षक कुलमान सहितको ‘पावर सेयरिङ’लाई उज्यालोले दोस्रो सर्तका रूपमा प्रस्तुत गरेको छ। जसमा कुलमानको अर्थपूर्ण स्थान र सरकारमा जाँदाको भूमिकाबारेको प्रतिबद्धता उज्यालोले खोजेको छ।
‘रास्वपासँग पहिला हाम्रो संवाद हुँदा उहाँहरूले वरिष्ठ नेताको प्रस्ताव गर्नुभएको थियो। अहिले के हुन्छ? त्यो त खुल्नुपर्ला नि। पहिला प्रधानमन्त्री दिन्छु भन्नुभएको थियो। त्यसबारे पनि सम्मानजनक प्रतिबद्धता आउनुपर्छ,’ ती नेताले भने।
उज्यालो पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले केन्द्रीय समिति बैठकमा पार्टी एकीकरण र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताए। उनले भने, ‘हामी जनभावनाअनुरूप एकीकरणकै पक्षमा छौँ। सबै दलको अस्तित्वको पक्षमै छौँ। त्यहीबारे छलफल भयो।’
बैठकले पार्टी एकीकरणका विषयमा आवश्यक संवाद र निर्णय गर्ने अधिकार कुलमानलाई नै सुम्पिएको अध्यक्ष उपाध्यायले जानकारी दिए।
यसअघि शनिवारकै एक कार्यक्रममा कुलमानले कसैको अस्तित्व समाप्त पार्ने हुने एकता सम्भव नहुने प्रतिक्रिया दिएका थिए।
‘एकताको अर्थ अरूलाई समाप्त गर्नु होइन,’ शनिवार उज्यालो नेपाल पार्टी नुवाकोट–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कुलमानले भने, ‘सबैको अस्तित्व स्वीकार गर्दै सबैलाई सम्मान हुने गरी अघि बढ्नु नै साँचो एकता हो।’
कुलमानको सन्देशः अरूलाई समाप्त गर्नु एकता होइन, सबैलाई सम्मान चाहिन्छ | Nagarik News
प्रकाशित: १२ पुस २०८२ १८:३१ शनिबार