राजनीति

मानव बेचबिखन रोक्न समयसापेक्ष कानुन र प्रभावकारी संयन्त्र आवश्यक : सांसद भट्टराई

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद श्रृष्टी भट्टराईले बदलिँदो समय र अपराधको स्वरूपअनुसार कानुनलाई अझ प्रभावकारी बनाउनुपर्ने बताएकी छिन्।

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८३ माथिको सामान्य छलफलमा भाग लिँदै उनले भनिन्, ‘यो सामान्य विधेयक नभई हाम्रा नागरिकको स्वतन्त्रता, सम्मान, सुरक्षा र राज्यप्रतिको विश्वाससँग जोडिएको विषय हो।’ मानव बेचबिखनलाई केवल अपराध नियन्त्रण गर्ने कानुनका रूपमा मात्र हेर्न नहुने उल्लेख गर्दै उनले यसलाई पीडितको संरक्षण र अपराधीमाथि प्रभावकारी कारबाही गर्ने बलियो माध्यम बनाउनुपर्नेमा जोड दिइन्।

पुरानो ऐनको समय सकिएको र आज समाज तथा अपराध गर्ने माध्यम दुवै परिवर्तन भएको उनको भनाइ थियो। उनले भनिन्, ‘आज मानव बेचबिखन केवल मानिसलाई एक ठाउँबाट अर्को ठाउँ लैजाने विषयमा मात्र सीमित नभई सामाजिक सञ्जालबाट हुने प्रलोभन, झूटो रोजगारीका अवसर, वैदेशिक रोजगारीको नाममा हुने ओसारपसार र शोषणका रूपमा देखिएको छ।’

विदेशमा बेचिएका, शोषणमा परेका वा जोखिममा रहेका नेपाली नागरिकको उद्धार र सुरक्षित स्वदेश फिर्तीमा राज्य अझ बढी जिम्मेवार हुनुपर्ने उनले बताइन्। यसका लागि तत्काल परिचालन हुने र निकायहरूबिच समन्वय गर्ने छरितो संयन्त्रस्वरूप ‘र्यापिड रेस्पोन्स टिम’ (आरआरटी) को व्यवस्था गर्नुपर्ने प्रस्ताव उनले राखिन्।

उद्धार मात्र अन्तिम लक्ष्य नभएको स्पष्ट पार्दै सांसद भट्टराईले भनिन्, ‘विदेशबाट पीडितको उद्धार गरेपछि राज्यको जिम्मेवारी सकिँदैन। उद्धार त केवल सुरुवात हो। त्यसपछि पीडितलाई कानुनी सहायता, परिवारसँग पुनर्मिलन, सीप र रोजगारीसँगको जोसाइ र आत्मसम्मानका साथ जीवन पुनर्स्थापना गर्ने प्रश्नको उत्तर पनि राज्यसँग हुनुपर्छ।’

प्रकाशित: १ भाद्र २०८३ १७:१३ सोमबार