राजनीति

राप्रपाका तीन प्रदेशसभा सदस्यलाई स्पष्टीकरण दिन १२ घण्टा अल्टिमेटम

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय अनुशासन समितिले पार्टीको निर्णय र निर्देशनबिना बागमती प्रदेश सरकारमा सहभागी भएका तीन प्रदेशसभा सदस्यलाई स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत स्पष्टीकरणको अल्टिमेटम दिने निर्णय भएको जानकारी दिए । श्रेष्ठका अनुसार पार्टीको निर्णय र निर्देशनबिना बागमती प्रदेश सरकारमा सहभागी भएका प्रदेशसभा सदस्यहरू राजु बिष्ट, राजेन्द्र प्रजापति र गीरबहादुर तामाङलाई पूर्ण सफाइको मौका दिँदै आगामी १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न समय दिइएको हो।

अनुशासन समितिले उनीहरूलाई स्पष्टीकरणसम्बन्धी सूचना टेलिफोन, म्यासेज, म्यासेन्जर, भाइबर, ह्वाट्सएपलगायत विभिन्न माध्यमबाट पठाएको श्रेष्ठले जनाएका छन्।

पार्टीको निर्णयविपरीत प्रदेश सरकारमा सहभागी भएको विषयलाई लिएर राप्रपाले आफ्ना प्रदेशसभा सदस्यहरूमाथि अनुशासनात्मक प्रक्रिया अघि बढाएको हो। समितिले तोकेको समयभित्र प्राप्त हुने स्पष्टीकरणका आधारमा उनीहरूमाथि थप निर्णय लिने तयारी गरेको बुझिएको छ।

प्रकाशित: ७ भाद्र २०८३ २०:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App