राजनीति

अब नेपाल प्रहरी मेडिकल कलेज स्थापना गर्न ढिला गर्नु हुँदैन : सांसद पोखरेल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले नेपाल प्रहरीको आफ्नै मेडिकल कलेज स्थापना गर्न ढिला नगर्न सरकारसँग माग गरेका छन्।

मंगलबार संसदमा बोल्दै उनले अस्पताललाई अझ बलियो र समय अनुकूल बनाउन २०६४ सालदेखि नै मेडिकल कलेज स्थापनाको प्रयास गरिएको भए पनि विभिन्न कारणले पूरा हुन नसकेको बताए। अहिले अस्पतालमा १५० भन्दा बढी डाक्टर, नर्स र प्यारामेडिक्सहरू तथा अन्य आधारभूत पूर्वाधारहरू उपलब्ध रहेको उल्लेख गर्दै उनले मेडिकल कलेज स्थापनाका लागि सरकारले अनुमति दिनुपर्ने, आवश्यक सहयोग गर्नुपर्ने र बजेट निकासा गर्नुपर्ने माग राखेका हुन्। 

सो अवसरमा पूर्वप्रहरी समेत रहेका सांसद पोखरेलले नेपाल प्रहरीको इतिहास २०१२ सालदेखि सुरु भएर करिब सात दशक पूरा भइसकेको बताए। उनले नेपाल प्रहरीले देशको शान्ति सुरक्षा, विभिन्न राजनीतिक परिवर्तन र द्वन्द्वको समयमा समेत अहोरात्र खटिएर अमूल्य योगदान दिएको उल्लेख गरे। देश र नागरिकको सुरक्षाका लागि प्रहरीले पुर्‍याएको यही योगदानलाई ध्यानमा राखेर २०४० सालमा नेपाल प्रहरी अस्पताल स्थापना भएको उनको भनाइ छ।

सांसद पोखरेलले स्थापनाकालदेखि हालसम्म आइपुग्दा यो अस्पतालले आफ्नो सेवालाई ठूलो रूपमा विस्तार गरेको बताए। २०७२ सालको भूकम्प, द्वन्द्वकाल र कोभिड-१९ को महामारीका बेला नेपाल प्रहरी र त्यहाँका चिकित्सकहरूले ठूलो चुनौती तथा कठिनाइको सामना गर्दै आफ्नो सेवालाई कहिल्यै तलमाथि पारेनन् भन्दै उनले यसको प्रशंसा गरे।

अहिले अस्पताल दिनप्रतिदिन राम्रो बन्दै गए पनि यसलाई कसरी समय अनुकूल र टिकाउ बनाउँदै लैजाने भन्ने चुनौती थपिएको उनले बताए। कतिपय अवस्थामा एमआरआई र सिटी स्क्यान मेसिन महिनौंसम्म बिग्रिने र सेवा पाउन कठिनाइ हुने समस्या पनि अस्पतालले भोगिरहेको उनको भनाइ थियो।

प्रकाशित: २ भाद्र २०८३ १४:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App