पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन साधारण चुनाव मात्र नभएर जनमत संग्रह समेत रहेको बताएका छन् । यो निर्वाचनले राष्ट्रवादी र राष्ट्रविरोधी कित्ताको निर्क्यौल गर्ने भएकाले यसलाई जनमत संग्रहको रुपमा लिनु पर्ने उनले बताए ।
फागुन २१ को प्रतिनिधी सभा निर्वाचन नजिकिँदै गएका बेला पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्र झापा ५ का मतदाताहरुसँग साक्षात्कार गरि रहेका छन् ।
आईतबार दमक १ मा भएको कार्यक्रममा उनले आगामी निर्वाचनलाई साधारण चुनाव मात्र नभई जनमत संग्रहको रुपमा लिनु पर्ने बताए । उनले यो निर्वाचनबाट जनताले राष्ट्रवादी र राष्ट्रविरोधी कित्ताको निर्क्यौल गर्ने बताए । देशलाई अस्तव्यस्तामा धकेलेर अस्थिरता निम्त्याउन खोज्नेहरु सक्रिय हुन खोजेको भन्दै एमाले अध्यक्ष ओलीले आगामी चुनावबाट त्यस्तालाई सधैंका लागि थान्को लगाउनु पर्ने पनि बताए ।
नेपालाई विदेशीको परेड खेल्ने स्थल हुन बाट जोगाउन समेत आगामी निर्वाचनबाट राष्ट्रवादी शक्तिको जीत जरुरी रहेको भन्दै उनले राष्ट्रवादी शक्तिको नेतृत्व एमालेले गरिरहेको बताए ।
प्रकाशित: १७ फाल्गुन २०८२ १६:४७ आइतबार



