राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि कांग्रेस र कम्युनिस्टले जस्तै मधेसी जनतालाई धोका दिने दाबी गरेका छन्।
मधेसी अनुहारलाई अघि सारेर मत लिए पनि रास्वपासँग उत्पीडित समुदायको अधिकार र पहिचानको कुनै स्पष्ट एजेन्डा नभएको उनले बताए।
मधेसी जनताले विगतमा कांग्रेस र कम्युनिस्टलाई मत दिएर पटक-पटक सत्तामा पुर्याए पनि उनीहरूका समस्या कहिल्यै इमानदारीपूर्वक समाधान नभएको महतोको भनाइ छ।
‘अहिले रास्वपाले पनि त्यही मधेसी अनुहारलाई दुरुपयोग गरिरहेको छ,’ महतोले भने, ‘अनुहार देखाएर मत त लियो, तर संघीयता, समावेशिता र अधिकारका सवालमा उनीहरू खुलेर बोल्दैनन्, यसको अर्थ फेरि पनि मधेसी जनतामाथि धोका नै हो।’
उनले रास्वपाको चरित्र पुराना दल कांग्रेस र कम्युनिस्टभन्दा रत्तिभर फरक नदेखिएको आरोप लगाए। अधिकार र पहिचानका मुद्दामा नयाँ भनिएका दलले मौनता साँधेको भन्दै उनले अनुहार मात्र देखाएर मधेस र उत्पीडित वर्गका समस्या समाधान नहुने प्रस्ट पारे।
जनताले मधेसी अनुहार कार्यकारी पदमा पुगेपछि आफ्ना वर्षौंदेखिका समस्या ‘होलसेल’ मा समाधान हुन्छ कि भन्ने आशले मत दिएको महतोले बताए।
‘अनुहारले मात्रै समस्याको समाधान हुँदैन, त्यसका लागि स्पष्ट विचार र एजेन्डा चाहिन्छ,’ उनले थपे, ‘यदि नयाँ शक्तिले पनि जनताको आशामाथि घात गरे र समस्या समाधान गरेनन् भने अधिकार प्राप्तिको आन्दोलन फेरि सशक्त रूपमा अघि बढ्छ।’
बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँग कुराकानी गर्दै अध्यक्ष महतोले यस्तो बताएका हुन्।
प्रकाशित: ११ चैत्र २०८२ २०:१३ बुधबार



