राजनीति

कवि अकिञ्चनको ‘सायद किनाराहरू’ लोकार्पण

कवि उमेश अकिञ्चनको नयाँ कवितासंग्रह ‘सायद किनाराहरू’ शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा लोकार्पण गरिएको छ।

रक्षामन्त्री मानवीर राईसहित कवि तथा साहित्यकारहरूले संयुक्त रूपमा विमोचन गरेको संग्रहलाई वक्ताहरूले नेपाली कवितामा नौलो विम्ब, भाव र शैली बोकेर आएको टिप्पणी गरेका छन्।

कार्यक्रममा बोल्दै कवि श्रवण मुकारुङले अकिञ्चनका कवितामा काव्यिक अनुभूति सघन रूपमा आएको बताए।

‘कविता कुनै धारणाभित्र मात्रै सीमित रहँदैन, किनकि कविता आविष्कार हो। अकिञ्चनले कवितामा नौलो विम्ब, भाव र संसारको आविष्कार गरेका छन्,’ उनले भने।

मुकारुङले अबका कविहरूले आफ्नै विम्ब निर्माण गर्नुपर्ने र कवितामा बौद्धिक कसरत गर्नुपर्ने समय आएको बताए।

त्यसैगरी, कवि विमला तुम्खेवाले अकिञ्चनका कविता समयसँग गम्भीर संवादमा रहेको बताइन्। ‘उनका कविताका विम्ब नयाँ, प्रयोगशील, कोमल र शालीन छन्,’ उनले भनिन्, ‘कविले आफ्नो समयको विश्व परिवेशलाई पनि कवितामा समेटेका छन्।’

रक्षामन्त्री मानवीर राईले कवि र कविताले समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै राजनीतिमा नलागेको भए आफू लोकदोहोरी गायक बन्ने रहर भएको रोचक प्रसंग सुनाए।

‘देशलाई सही दिशामा ल्याउन कवि–साहित्यकारको इतिहासदेखि नै योगदान छ,’ उनले भने।

कार्यक्रममा संग्रहभित्रका कविताहरूलाई कवि डा. स्मिता श्रेष्ठ र रिमा केसीले वाचन गरेर सुनाएका थिए। संग्रहमा कवि रमेश क्षितिजले ‘मन छुने विम्बहरूले भरिएका र शान्त भाषामा संवाद गर्ने उनका कविताले पाठकीय हृदयलाई असीम शीतलता प्रदान गर्ने’ उल्लेख गरेका छन्।

समीक्षक राजकुमार बानियाँले लामो भूमिका लेख्दै अकिञ्चनले कविताको किनारामा नौला विम्ब र हँसिला बुट्टा भरेको बताएका छन्। ‘सायद किनाराहरू’ अकिञ्चनको तेस्रो काव्यकृति हो। इन्डिगो इन्कले प्रकाशन गरेको संग्रहको मूल्य ५४९ रुपैयाँ रहेको छ।

प्रकाशित: ३ श्रावण २०८२ २०:११ शनिबार