राजनीति

जेन-जी आन्दोलनको एक वर्ष: मधेसका आठै जिल्लामा रास्वपाले गर्‍यो दीप प्रज्वलन

जेन-जी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेस प्रदेशका आठवटै जिल्लामा दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा आयोजना गरेको छ।

आन्दोलनका क्रममा ज्यान गुमाएका युवा सहिदहरूको स्मरण गर्दै उनीहरूको बलिदानलाई केवल स्मृतिमा मात्र सीमित नराखी राज्यको नीति र सुशासनमा रूपान्तरण गर्न रास्वपाले जोड दिएको छ।

रास्वपा मधेस प्रदेशअन्तर्गतका जिल्ला कार्यसमितिहरूको संयोजनमा पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीमा एकसाथ कार्यक्रम सम्पन्न भएका हुन्।

साँझ आयोजित दीप प्रज्वलन कार्यक्रममा पार्टीका नेता-कार्यकर्तासँगै उल्लेख्य संख्यामा स्थानीय नागरिकहरू सहभागी भई सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

सर्लाहीको सदरमुकाम मलङ्गवामा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै रास्वपा सांसद रविन महतोले लोकतन्त्र, सुशासन, सामाजिक न्याय र नागरिक अधिकारका लागि युवाहरूले दिएको जीवन आहुतिलाई राष्ट्रले सदैव उच्च सम्मान गर्नुपर्ने बताए।

‘सहिदहरूले देखाएको परिवर्तनको बाटो र उनीहरूको सपना साकार पार्न राजनीतिक दल तथा नागरिक समाजबीच इमानदार सहकार्य आवश्यक छ,’ सांसद महतोले भने।

रास्वपाले जेन-जी आन्दोलनलाई नयाँ पुस्ताको राजनीतिक चेतना र सुशासनप्रतिको अडानका रूपमा व्याख्या गरेको छ। कार्यक्रमका सहभागीहरूले सहिदको बलिदानलाई औपचारिकतामा मात्र सीमित नराखी आन्दोलनले उठाएको भ्रष्टाचार नियन्त्रण, जवाफदेहिता र सुशासनको मुद्दालाई सरकारले तत्काल नीतिगत रूपमा सम्बोधन गर्नुपर्ने माग राखेका थिए।

प्रकाशित: २३ भाद्र २०८३ २१:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App