पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुक चौतर्फी समस्याको चाङमा फसेको भन्दै आर्थिक अवस्था उकास्न र छिमेकी राष्ट्रहरूसँगको सद्भाव बढाउन राज्यको ध्यान केन्द्रित हुनुपर्ने बताएका छन्।
नयाँ वर्ष २०८३ सालको अवसरमा भिडियो शुभकामना जारी गर्दै उनले यस्तो बताएका हुन्।
‘आज हाम्रो देश चौतर्फी समस्याको चाङमा छ,’ उनले भनेका छन्, ‘यो स्थितिमा हाम्रो आर्थिक अवस्थालाई कसरी उकास्ने, छिमेकीहरू र बाह्य मित्रशक्तिहरूको सहयोग र सद्भाव कसरी बढाउँदै जाने भन्नेमा हाम्रो ध्यान केन्द्रित हुनुपर्ने देखिन्छ।’
उनले आन्तरिक सुरक्षा प्रणालीको दृष्टिले पनि मुलुक अत्यन्तै नाजुक अवस्थामा पुगेको सुनाए। नयाँ वर्षमा नागरिकको जिउधनको सुरक्षा, अत्यावश्यक वस्तुको संरक्षण र जीवन जिउने मानवीय हकको प्रत्याभूति दिन सुरक्षा अङ्गलाई चुस्त बनाउनुपर्ने उनको भनाइ छ।
अशान्त र विषम विश्व परिवेशमा देशलाई जोगाउन राज्यले ध्यान दिनुपर्ने उनले बताए।
विगतका वर्षहरूमा सधैँ प्रयोग र विकल्पको मात्र खोजी हुँदा देश प्रयोगशाला मात्रै बनेको पूर्वराजा शाहको टिप्पणी छ। विधि र व्यक्ति बदल्ने कोरा परिवर्तनले मात्र समग्र स्थिति नसुध्रिएको भन्दै उनले हरेक क्षेत्रमा आत्मनिर्भर र स्वाधीन बनेर देशलाई परनिर्भरताबाट जोगाउनुपर्ने आवश्यकता औँल्याए।
‘देशको स्रोत नै शक्ति हो, सही उपयोग भएमा नै समाजको कल्याण हुन्छ,’ उनले भनेका छन्।
प्रकाशित: ३० चैत्र २०८२ १७:२० सोमबार



