भदौ २३ को जेन–जी आन्दोलन र २४ गतेको विध्वंसका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाएको छ। आयोगले मंगलबार पहिलो पटक आधिकारिक पत्र काटेर लेखकलाई बयानका लागि बोलाएको हो।
लेखकलाई बयानका लागि बोलाएको कुरा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले पुष्टि गरे। आयोगकाअनुसार लेखकलाई सात दिन भित्र आयोगमा उपस्थित भएर बयान दिन भनिएको छ। लेखकपछि आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ।
तर, ओलीले भने आयोगका पदाधिकारीले पहिल्यै फैसला सुनाइसकेको भन्दै बयान नदिने अडान कायम राखेका छन्। जसले आयोगलाई नै चुनौती थपेको छ।
उता तत्कालीन गृहमन्त्री लेखक भने आयोगमा बयान दिन जाने वा नजाने भन्ने विषयमा निष्कर्षमा पुगिसकेका छैनन्। स्रोतका अनुसार लेखक सकारात्मक रहे पनि एक पटक तत्कालीन प्रधानमन्त्री ओलीसँग परामर्श भने गर्नसक्ने सम्भावना देखिएको छ।
‘उहाँ बयान दिन जानेमा सकारात्मक नै हुनुहुन्छ। मानव अधिकार आयोगमा गएर पनि बयान दिइसक्नुभयो,’ लेखक निकट स्रोतले भन्यो,‘सम्भवतः जाँचबुझ आयोगमा पनि जानुहुन्छ। तर एक पटक तत्कालीन प्रधानमन्त्रीसँग सल्लाह गर्ने सम्भवना हुन्छ।’
प्रकाशित: ८ पुस २०८२ १५:३८ मंगलबार



