राजनीति

‘बालेन सरकार पश्चिमी शक्तिकै कारण विघटन हुन्छ’

नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष रामबहादुर थापाले पश्चिमी शक्तिहरूको स्वार्थ पूरा गर्न नसके बालेन नेतृत्वको सरकार उनीहरूबाटै विघटन हुन सक्ने दाबी गरेका छन्।

नेकपा (एमाले) दमक नगर कमिटीद्वारा आयोजित पार्टी कार्यालय निर्माण तथा पुनर्निर्माणमा सहयोग गर्ने दाताहरूको सम्मान र दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै थापाले यस्तो धारणा राखेका हुन्।

उनले एमाले, नेपाली कांग्रेस र तत्कालीन माओवादीसहितका राजनीतिक दलले पश्चिमी शक्तिको स्वार्थ पूरा गर्न नसकेपछि पार्टी कार्यालय, नेता तथा कार्यकर्ताका घर र भवनमा आगजनी गरी ध्वस्त पारिएको दाबी गरे।

पश्चिमी शक्तिले इराकका पूर्वराष्ट्रपति सद्दाम हुसेन र अलकायदाका नेता ओसामा बिन लादेनलाई आफैँले उभ्याएर पछि आफ्नो स्वार्थमा बाधक बनेपछि समाप्त पारेको उदाहरण दिँदै थापाले नेपालमा पनि त्यस्तै परिस्थिति दोहोरिन सक्ने तर्क गरे।

एमाले दमक नगर अध्यक्ष रामप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी कार्यालय स्थापनाका लागि सहयोग गर्ने दाता तथा २०८२ भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको तोडफोडपछि ध्वस्त कार्यालय पुनर्निर्माणमा सहयोग गर्ने दाता, नेता, कार्यकर्ता र शुभेच्छुकलाई सम्मानपत्र प्रदान गरिएको थियो।

दमक–९ मा रहेको पार्टी कार्यालय निर्माणका लागि जग्गा दान गर्ने लक्ष्मीप्रसाद बराल, लक्ष्मीदेवी बराल, खेम बराल र दीपा दाहाल बराललाई पनि प्रमुख अतिथि थापाले सम्मान गरेका थिए।

कार्यक्रममा एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा भवन निर्माण तथा पुनर्निर्माण समिति संयोजक अम्बिका खनालले पार्टी कार्यालय पुनर्निर्माणको अवस्थाबारे जानकारी गराएका थिए।

प्रकाशित: २० कार्तिक २०८३ १८:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App