भारतसँगको सीमा विवाद सम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिपछि पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा तनाव बढेको स्थानीय तहका जनप्रतिनिधिहरूले बताएका छन्।
सुस्ता गाउँपालिका-५ स्थित नारायणी नदी किनारमा निर्माणाधीन तटबन्धको काम रोक्न भारतीय सशस्त्र सीमा बल (एसएसबी) का ४० देखि ५० जना सदस्य नेपाली भूमिमा प्रवेश गरी दबाब दिएको आरोप स्थानीय पक्षले लगाएका छन्।
गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायका अनुसार तटबन्ध निर्माण भइरहेको क्षेत्रमा एसएसबीका सदस्यहरू पुगेपछि निर्माण कार्य प्रभावित भएको छ। उनले एसएसबीले निर्माण कार्य तत्काल रोक्न दबाब दिएको दाबी गरे।
स्थानीयका अनुसार नारायणी नदीको कटान नियन्त्रण तथा बस्ती संरक्षणका लागि तटबन्ध निर्माणको काम भइरहेको थियो। तर भारतीय पक्षबाट आएको दबाबपछि निर्माण कार्यमा अवरोध उत्पन्न भएको उनीहरूको भनाइ छ।
घटनापछि सीमा क्षेत्रमा थप सतर्कता अपनाइएको स्थानीय स्रोतले जनाएको छ। यद्यपि यस विषयमा भारतीय पक्षको आधिकारिक प्रतिक्रिया प्राप्त भइसकेको छैन।
सुस्ता क्षेत्र नेपाल-भारत सीमा विवादसँग जोडिएको संवेदनशील भूभागका रूपमा चिनिन्छ। यसअघि पनि सीमा व्यवस्थापन, नदीको धार परिवर्तन तथा भूमि स्वामित्व सम्बन्धी विषयमा समय-समयमा विवाद र तनाव उत्पन्न हुँदै आएका छन्।
घटनाबारे सम्बन्धित सुरक्षा निकाय तथा प्रशासनले थप जानकारी संकलन गरिरहेको जनाइएको छ।
प्रकाशित: १८ जेष्ठ २०८३ १३:१२ सोमबार



