नेपाल प्रहरीको महानिरीक्षक पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दिएको रिट निवेदन बिहीबार सर्वोच्च अदालतमा दर्ता हुन सकेन।
सरकारले बुधबार कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाउँदै डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो। उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै कार्की न्यायिक उपचारको मागसहित सर्वोच्च अदालत पुगेका थिए।
सर्वोच्च प्रशासनले निवेदनमाथि थप अध्ययन गर्नुपर्ने भन्दै तत्काल दर्ता प्रक्रिया अघि नबढाएको अदालत स्रोतको भनाइ छ।
कार्कीका तर्फबाट पैरवी गरिरहेका अधिवक्ता टीकाबहादुर कुँवरले प्रशासनले अध्ययनका लागि समय लाग्ने जानकारी दिएकाले बिहीबार रिट दर्ता हुन नसकेको बताएका छन्।
नवनियुक्त महानिरीक्षक डा. मनोजकुमार केसीले भने बुधबारदेखि नै प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हालिसकेका छन्।
कार्कीको रिट शुक्रबार दर्ता भए पनि तिहार बिदाका कारण त्यसको प्रारम्भिक सुनुवाइका लागि भने बिदा सकिनुपर्ने देखिएको छ।
प्रकाशित: १९ कार्तिक २०८३ १८:१७ बिहीबार


-600x400.jpg)
