परराष्ट्र मन्त्री शिशिर खनालले मुलुकको समृद्धिका लागि परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा रुपान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।
नेपाल परराष्ट्र सेवा दिवसका अवसरमा आइतबार आयोजित समारोहलाई सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रियस्तरमा मुलुकको गरिमा र छवि बढाउन बलियो कूटनीतिक प्रयासको खाँचो औँल्याए।
मन्त्री खनालले वैदेशिक लगानी, पर्यटन विकास र प्रवर्द्धन, प्रविधि स्थानान्तरण र नेपाली उत्पादनको बजार पहुँचको लागि अन्तर्राष्ट्रिय साझेदारीलाई सक्रिय रूपमा उपयोग गर्न परम्परागत दृष्टिकोण रूपान्तरण हुनुपर्ने बताए। उनले परिवर्तनशील विश्वमा परराष्ट्र सेवाको विशिष्ट भूमिका रहेको उल्लेख गरे।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले नेपालको परराष्ट्र सेवामा विशिष्ट योगदान दिएका अग्रजप्रति सम्मान व्यक्त गर्दै परराष्ट्र सेवाका सदस्यलाई व्यावसायिक रूपमा प्रस्तुत हुन अनुरोध गरे।
त्यस अवसरमा नवनियुक्त परराष्ट्र सेवाका अधिकारीलाई स्वागत तथा अवकाशप्राप्त अधिकारी तथा कर्मचारीलाई सम्मान गरिएको थियो। समारोहमा मन्त्रालयका उच्चपदस्थ अधिकारी, पूर्वमुख्य सचिव, पूर्वपरराष्ट्र सचिव, पूर्वराजदूतलगायत उपस्थित थिए।
प्रकाशित: ११ जेष्ठ २०८३ ०६:५२ सोमबार



