परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि श्रीलङ्काकी राजदूत रुवान्थी डेल्पिटियाले शिष्टाचार भेट गरेका छन्।
परराष्ट्र मन्त्रालयमा बुधबार भएको भेटमा राजदूत डेल्पिटियाले हालैको विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि श्रीलङ्का सरकारको तर्फबाट १० लाख अमेरिकी डलर आर्थिक सहयोग हस्तान्तरण गरे।
सो अवसरमा राजदूत डेल्पिटियाले बाढीका कारण भएको जनधन तथा पूर्वाधारको क्षतिप्रति श्रीलङ्का सरकार र जनताको तर्फबाट दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता प्रकट गरे।
उनले बाढीप्रभावित क्षेत्रमा जारी मानवीय सहायता तथा राहत प्रयासमा सहयोग पुर्याउने उद्देश्यले श्रीलङ्का सरकारबाट प्रदान गरिएको आर्थिक सहयोग परराष्ट्रमन्त्री खनाललाई हस्तान्तरण गरे।
उक्त अवसरमा परराष्ट्रमन्त्री खनालले विपद्को यस कठिन समयमा नेपालप्रति ऐक्यबद्धता र सहयोग व्यक्त गर्नुका साथै राहत तथा मानवीय प्रयासका लागि आर्थिक सहयोग उपलब्ध गराएकोमा श्रीलङ्का सरकार र त्यहाँका जनताप्रति गहिरो कृतज्ञता व्यक्त गरे।
मन्त्री खनालले श्रीलङ्काको सहयोगले नेपाल र श्रीलङ्काबीच रहेको गहिरो मित्रता, पारस्परिक सहयोग र सहकार्यलाई प्रतिविम्बित गरेको बताए।
साथै, विपद्को समयमा श्रीलङ्काले देखाएको सद्भाव र सहयोगका लागि नेपाल सरकारको तर्फबाट धन्यवाद व्यक्त गरे।
प्रकाशित: २४ भाद्र २०८३ १७:१२ बुधबार



-600x400.jpg)