रास्वपाकी सांसद ज्वाला संग्रौलाले आफ्नो मेहेनतले सम्पत्ति आर्जन गरेर सक्षम नागरिक बन्नु गलत नभएको बताएकी छन्।
गृहमन्त्री सुधन गुरुङको पक्षमा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले सत्ताको चाबी हातमा लिएर मान्छे बेच्ने, बालुवाटारको जग्गा खाने, गिरीबन्धु निल्ने, पाइलैपिच्छे देशको ढुकुटी दोहन गरेर शक्तिको वरिपरि नाचिरहेकाहरूलाई आफ्नै मेहेनतले कमाएर पनि धनी बन्न सकिन्छ भन्नेमा विश्वास नभएको भनाइ राखिन्।
'सेयर किन्नु, लगानी गर्नु, आफ्नो मेहनतले सम्पती आर्जन गरेर सक्षम नागरिक बन्नु गलत होइन। सत्ताको चाबी हातमा लिएर मान्छे बेच्ने , बालुवाटारको जग्गा खाने, गिरीबन्धु निल्ने, पाइलैपिच्छे देशको ढुकुटी दोहन गरेर शक्तिको वरिपरि नाचिरहेकाहरूलाई आफ्नै मेहेनतले कमाएर पनि धनी बन्न सकिन्छ भन्ने कुरामा विश्वास नै छैन,' उनले सामाजिक सञ्जालमा भनिन्।
यस कारण कसैको अलि बढी सम्पत्ति देख्यो कि 'कहाँबाट आयो?' भनेर प्रश्न सोझ्याइहाल्ने गरेकामा असन्तुष्टि व्यक्त गरिन्। गृहमन्त्रीको एक्सनले तर्सिएकाहरूलाई कसरी हुन्छ उनलाई हटाउन पाए हुन्थ्यो भन्ने लागेको तर्क उनको छ।
'कसैको अलि बढी सम्पत्ति देख्यो कि "कहाँबाट आयो? " भनेर प्रश्न सोझ्याइहाल्छन्। किनकि उनीहरू त्यस्तै अवैध बाटोबाट ल्याउथे र धन थुपार्थे। मान्छेले जे अभ्यास गरेको छ, त्यही बुझ्छ, त्यही सिक्छ, त्यो भन्दा अरु जान्दैन,' उनले भनिन्, 'गृहमन्त्रीको एक्सनले तर्सिएकाहरूलाई कसरी हुन्छ उनलाई हटाउन पाए हुन्थ्यो भन्ने छ। मेहनतले कमाएको सम्पतिलाई "अवैध " देख्ने यिनीहरूको लुटतन्त्रको जग त भत्काउनै पर्छ गृहमन्त्री ज्यु।'
प्रकाशित: ८ वैशाख २०८३ ०९:१२ मंगलबार



