सभामुख डोलप्रसाद (डिपी) अर्याल छठ पर्वका अवसरमा वीरगन्जस्थित ऐतिहासिक घडिअर्वा पोखरीमा आयोजित छठ पूजामा आज सहभागी भएका छन्।
श्रद्धा र आस्थाको प्रतीकका रुपमा लिइने सांस्कृतिक पर्व छठका अवसरमा सभामुख अर्यालले घडिअर्वा पोखरी परिसरको अवलोकन तथा स्थानीय श्रद्धालुहरूसँग भेट गरे।
त्यसैगरी, छठ पर्वका अवसरमा वीरगन्ज महानगरपालिका–१६ स्थित नगवा पोखरीको छठ पूजामा पनि उनी सहभागी भए।
लोकआस्थाको पर्व छठ पर्वका अवसरमा वीरगन्जस्थित पोखरी, नदी, सरोवर तथा जलाशयलगायत छठघाट साजसज्जाले झकिझकाउ गरिएका छन्।
वीरगन्जका ऐतिहासिक घडिअर्वा, लाछुमनवा र ‘स्वीमिङ पुल’लगायत छठ घाटलाई साजसज्जासहित सुन्दर बनाइएको छ। खरना मनाई सकिएको छ भने आज अस्ताउँदो सूर्य र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइने छ।
घडिअर्वा छठघाटमा भारतको कोलकाताबाट आएका कारिगरले विशेष सजावट गरिएको घडिअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश साह कानुले जानकारी दिए।
उनका अनुसार घडिअर्वा छठघाटमा पाँच हजार ५०० व्रतालु र हजारौँ दर्शनार्थी आउने अपेक्षा गरिएको छ।
त्यसैगरी, घडिअर्वासति अन्य घाटहरुमा सुरक्षाका लागि २४सै घण्टा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।
प्रकाशित: २९ कार्तिक २०८३ १८:४३ आइतबार



