राजनीति

त्रिपक्षीय वार्ताको प्रत्यक्ष प्रसारण गर्न माग गर्दै बालुवाटार बाहिर नाराबाजी

सरकार, राजनीतिक दल र जेन-जी प्रतिनिधिबीच बालुवाटारमा जारी त्रिपक्षीय वार्ताको प्रत्यक्ष प्रसारण गर्न माग गर्दै प्रधानमन्त्री निवास बाहिर नाराबाजी भएको छ।

वार्तामा सहभागी नभएका युवाहरूले बन्द कोठाभित्र हुने कुनै पनि सम्झौता आफूहरूलाई मान्य नहुने भन्दै विरोध प्रदर्शन गरेका हुन्।

प्रधानमन्त्री निवास बाहिर जम्मा भएका युवाहरूले ‘बन्द कोठाभित्र वार्ता गर्न पाइँदैन,’ ‘बन्द कोठाभित्रको वार्ता हामी मान्दैनौँ,’ र ‘तीन करोड जनताले देख्ने गरी वार्ता लाइभ हुनुपर्छ’ जस्ता नारा लगाएका थिए।

उनीहरूले वार्तामा हुने हरेक छलफल पारदर्शी हुनुपर्ने र नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिनुपर्ने माग राखेका छन्।

‘बन्द कोठाभित्रको वार्तालाई हामी मान्दै मान्दैनौँ,’ एक प्रदर्शनकारीले भने, ‘वार्तामा चाहे जेन-जीका घाइते होऊन् वा अरू कोही, सबै कुरा जनताले थाहा पाउनुपर्छ।’

उनीहरूले वार्तामा के-कस्ता विषयमा छलफल भइरहेको छ भन्नेबारे जनतालाई सुसूचित गर्नुपर्नेमा जोड दिए।

आगामी निर्वाचनको वातावरण बनाउने उद्देश्यले सरकारले पहिलोपटक राजनीतिक दल र जेन-जी प्रतिनिधिहरूलाई एकै ठाउँमा राखेर त्रिपक्षीय वार्ता आयोजना गरेको हो।

तर, वार्ता सुरु भएलगत्तै बाहिर रहेका युवाहरूले वार्ताको प्रक्रिया र पारदर्शितामाथि प्रश्न उठाउँदै प्रदर्शन सुरु गरेका हुन्।

प्रकाशित: १२ कार्तिक २०८२ १७:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App