राजनीति

‘एकताको महाधिवेशन’बाट पार्टीको विवाद मिलाउन मोरङमा शेखर पक्षीय नेताको माग

नेपाली कांग्रेसभित्र बढ्दै गएको आन्तरिक विवाद समाधानका लागि डा. शेखर कोइराला पक्षीय मोरङका नेताहरूले ‘एकताको महाधिवेशन’ गर्न माग गरेका छन् ।

शुक्रबार विज्ञप्ति जारी गर्दै उनीहरूले कांग्रेसभित्र अलग–अलग रूपमा अघि बढिरहेका दुई महाधिवेशन प्रक्रियालाई एउटै साझा प्रक्रियामा समाहित गरी सबै पक्षको सहभागितामा ‘एकताको महाधिवेशन’ आयोजना गर्न नेतृत्वसँग आह्वान गरेका हुन् ।

विवाद समाधान नगरी समानान्तर रूपमा अघि बढाइएका दुईवटा महाधिवेशन प्रक्रियाले समस्या समाधान गर्नुको सट्टा पार्टीभित्र समानान्तर संगठन, नेतृत्व र वैधानिकताको दाबी सिर्जना गर्ने जोखिम बढाएको उनीहरूको निष्कर्ष छ ।

‘महाधिवेशन पार्टी विभाजनको माध्यम नभई नेपाली कांग्रेसलाई थप सुदृढ र एकताबद्ध बनाउने सर्वोच्च लोकतान्त्रिक अभ्यास बन्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ ।

उनीहरूले आपसी संवाद, सहमति र लोकतान्त्रिक विधिबाट विद्यमान विवाद समाधान गरी सबै पक्षले स्वीकार गर्न सक्ने निष्पक्ष, स्पष्ट र सर्वस्वीकार्य महाधिवेशन कार्यतालिका सार्वजनिक गर्न पनि माग गरेका छन् ।

पूर्ण एकता, सबै पक्षको सहमति र सहभागितामा हुने ‘एकताको महाधिवेशन’ले मात्रै बलियो, सक्षम र सबल कांग्रेस निर्माण गर्न सहयोग पुग्ने उनीहरूको धारणा छ ।

विज्ञप्तिमा महासमिति सदस्य गोपालमानसिंह राजभण्डारी, मोरङका जिल्ला उपसभापति एवं विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की र महासमिति सदस्य निरञ्जन रिजालले हस्ताक्षर गरेका छन् ।

त्यसैगरी मोरङका महाधिवेशन प्रतिनिधिहरू नगेन्द्र जम्मरकट्टेल, रामहरि कोइराला, नईम आलम, पार्वती यादव, सुधीरकुमार अर्याल र देवेन्द्र पोखरेलले पनि विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

कांग्रेस मोरङ जिल्ला समितिका सल्लाहकार देवी भण्डारी, जिल्ला सदस्य सुशील कोइराला, मुसरफ खान, सुमित्रा कोइराला र अञ्जना अधिकारीलगायतले पनि विज्ञप्तिमा समर्थन जनाएका छन् ।

कांग्रेसभित्रको आन्तरिक विवादका कारण पार्टी संगठन र नेतृत्वसम्बन्धी समानान्तर दाबी उत्पन्न हुने अवस्था बनेको भन्दै उनीहरूले समयमै संवाद र सहमतिबाट निकास खोज्नुपर्नेमा जोड दिएका छन् ।

पछिल्लो समय कांग्रेस नेता डा. शेखर कोइरालाले पार्टीलाई एकढिक्का बनाउने भन्दै दुवै पक्षबाट अघि बढाइएका महाधिवेशन प्रक्रियामा सहभागी नहुने बताउँदै आएका छन् ।

यता कांग्रेस सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवा पक्षले भने छुट्टाछुट्टै महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्दै आ–आफ्नो महाधिवेशन प्रक्रिया अघि बढाएका छन् ।

प्रकाशित: २ आश्विन २०८३ २०:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App