राजनीति

सागर ढकाल भन्छन्- जनतालाई छिटो नतिजा दिन अध्यादेश ल्याउनु परेको हो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकालले सरकारले ल्याएको अध्यादेश जनताको अपेक्षाअनुसार छिटो नतिजा दिनका लागि आवश्यक रहेको बताएका छन्।

बुधबार संसदीय दलको अनौपचारिक बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ढकालले राज्यका कतिपय नीति-नियमहरू अड्किएका कारण काम गर्न ढिलाइ हुने भएकाले अध्यादेशको सहारा लिइएको स्पष्ट पारेका हुन्।

‘जनताले आजको आजै नतिजा खोजिरहेका छन्, धेरै समय कुर्न सक्ने अवस्था छैन,’ ढकालले भने, ‘कतिपय अवस्थामा नियमित प्रक्रियाबाट जाँदा समय लाग्ने भएकाले चाँडो नतिजा दिन र देशलाई अगाडि बढाउन अध्यादेश ल्याउनु आवश्यकता देखिएको हो।’

उनले यो कुनै व्यक्तिगत स्वार्थका लागि नभई कार्यसम्पादनमा सहजता ल्याउनका लागि ल्याइएको दाबी समेत गरे। बैठकमा सुकुम्वासी समस्याका विषयमा पनि घनीभूत छलफल भएको ढकालले जानकारी दिए।

उनले पार्टी सभापति रवि लामिछानेले सुकुम्वासी बस्ती व्यवस्थापनका विषयमा करिब २० देखि २५ मिनेटसम्म विशेष छलफल गरेको सुनाए।

सुकुम्वासीहरूलाई सुरक्षित र व्यवस्थित बनाउने विषयमा पार्टी एकदमै स्पष्ट र गम्भीर रहेको उनको भनाइ थियो।

सांसद ढकालले जनताले रास्वपालाई देश बनाउनका लागि चुनेर पठाएकाले आफूहरू जनसरोकारका मुद्दामा संवेदनशील रहेको उल्लेख गरे।

नियमित प्रक्रियाका जटिलताहरू फुकाउन अध्यादेशले सहजता प्रदान गर्ने विश्वास उनले व्यक्त गरे।

प्रकाशित: १६ वैशाख २०८३ १६:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App