राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरीलगायतका पूर्वी जिल्लामा हालै घटेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
यी घटनाले निम्त्याएको तनावपूर्ण परिस्थितिप्रति सिंगो पार्टी पंक्ति स्तब्ध र मर्माहत भएको उनको भनाइ छ। पार्टी सभापति लामिछानेद्वारा जारी विज्ञप्तिमा सामाजिक सहिष्णुतामा खलल पुर्याउने गरी कुनै पनि गतिविधि नगर्न आम नागरिक, नागरिक अगुवा र सरोकारवाला पक्षहरूलाई अपिल गरिएको छ। साथै, उनले उत्तेजना र अफवाहको पछि नलागी उच्च संयमता अपनाउन आग्रह गरेका छन्।
तत्काल शान्ति सुरक्षा कायम गर्न, जिउधनको रक्षा गर्न र परिस्थितिलाई सामान्य बनाउन पार्टीले सरकार र स्थानीय प्रशासनसँग सहजीकरण गरिरहेको दाबी समेत गरेका छन्। सभापति लामिछानेले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न र पीडितलाई उचित न्याय, क्षतिपूर्ति तथा निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग पनि गरेका छन्।
घटनालाई राजनीतिकरण नगर्न सबै राजनीतिक दलहरूलाई आग्रह गर्दै उनले स्थानीय समितिका सदस्यहरूलाई शान्ति र सदभाव कायम राख्न सहयोगी भूमिका खेल्न निर्देशन दिएका छन्।
विज्ञप्ति हेर्नुस्

प्रकाशित: १२ श्रावण २०८३ १७:५१ मंगलबार



