राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नेतृत्वमा अब बन्ने सरकारले नै संसद् अधिवेदन आह्वानको लागि राष्ट्रपतिलाई सिफारिस गर्ने भएको छ । निर्वाचन सम्पन्न भएको १९ दिन भइसक्दा पनि वर्तमान सरकारले संसद् अधिवेशन गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस नगरेपछि प्रतिनिधिसभामा बहुमत प्राप्त रास्वपा नेतृत्वको सरकारले नै संसद अधिवेशन आह्वानको लागि सिफारिस गर्ने तयारी भएको हो ।
मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने कानुनी प्रावधान अनुसार अब बन्ने सरकारले अधिवेशन आह्वानको लागि सिफारिस गर्नुपर्नेछ ।
त्यसकाे लागि प्रतिनिधिसभा निर्वाचनमा १८२ सिटसहित बहुमत ल्याएको रास्वपाले वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहको नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी तीव्र पारेको छ। यहि चैत १३ गते बालेन शाहले प्रधानमन्त्री पदको शपथ लिनेछन्। सोही दिन उनले मन्त्रिपरिषद्का अन्य सदस्यहरूलाई पनि पद तथा गोपनीयताको शपथ गराउने तयारी गरिएको छ।
सम्भवत मन्त्रीपरिषद्को पहिलो बैठकले नै अधिवेशन आह्वानको लागि सिफारिस गर्ने संसद् सचिवालयका एक कर्मचारीले नागरिकलाई जानकारी दिए ।
नयाँ सरकारको संरचना सानो र प्रभावकारी बनाउने लक्ष्यसहित कम्तीमा १६ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी छ भने अधिकतम १८ मन्त्री रहने सम्भावना रहेको बताइएको छ। यद्यपि, नेपालको संविधान अनुसार प्रधानमन्त्रीसहित २५ सदस्यसम्मको मन्त्रिपरिषद् गठन गर्न सकिने व्यवस्था छ।
यसअघि, चैत १२ गते नवनिर्वाचित सांसदहरूलाई शपथग्रहण गराइने कार्यक्रम तय गरिएको छ। त्यसका लागि चैत ११ गते प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराउनेछन्। त्यसपछि केसीले चैत १२ गते सांसदहरूलाई शपथ गराउनेछन्।
सांसदहरूको शपथपछि नेपालको संविधानको धारा ७६ (१) अनुसार बहुमत प्राप्त दलका संसदीय दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढ्नेछ।
प्रकाशित: १० चैत्र २०८२ १२:५८ मंगलबार



