राजनीति

चालकको लापरवाही र कमजोर लाइसेन्स प्रणालीले सडक दुर्घटना भयो : पुकार बम

प्रतिनिधिसभा सदस्य पुकार बमले चालकको लापरवाही, कम उमेर र अनुभवको कमी तथा सवारी चालक अनुमतिपत्र वितरण प्रणाली प्रभावकारी नहुँदा सडक दुर्घटना बढिरहेको बताएका छन्। 

प्रतिनिधिसभाको बैठकमा बोल्दै बमले पछिल्लो समय विद्युतीय सवारी (ईभी) दुर्घटनाको दर बढेको देखिए पनि दुर्घटनाको कारणलाई ईभीमा मात्र सीमित गरेर हेर्न नहुने बताए। उनले समग्र सडक सुरक्षा प्रणाली, चालकको सीप, अनुभव, लाइसेन्स प्रणाली र नियमनको अवस्थाबारे गम्भीर समीक्षा आवश्यक रहेको बताए। 

‘समग्र रोड सेफ्टी सिस्टममा हाम्रो प्रश्न हो। सवारी चालकमा चरम लापरवाही देखिन्छ। धेरै चालक कम उमेरका र अनुभवहीन छन्,’ उनले भने, ‘सार्वजनिक सवारी चलाउन सवारी चालक अनुमति प्राप्त गर्ने प्रक्रिया कतिको वैज्ञानिक र कडा छ भन्ने प्रश्न उठेको छ।’   

बमले हालै दुर्घटनामा परेको ईभीका चालकको उमेर २० वर्ष रहेको उल्लेख गर्दै दुर्घटनापछि सवारीसाधनलाई मात्र दोष दिनुभन्दा चालकको सीप, अनुभव, लाइसेन्स प्रणाली र नियमनलाई समेत अध्ययन गर्नुपर्ने बताए। 

उनले ईभी प्रयोगकर्तालाई सुरक्षित र सही प्रयोगबारे पर्याप्त जानकारी नदिइएको भन्दै सरकारले व्यवस्थित रूपमा ‘ईभी सेफ्टी एजुकेसन’ सञ्चालन गर्नुपर्नेमा जोड दिए। उनका अनुसार ब्याट्रीको अवस्था बुझ्ने, चार्ज गर्दा अपनाउनुपर्ने सावधानी, दुर्घटना भएमा गर्नुपर्ने प्रारम्भिक काम, समस्याका संकेत पहिचान गर्ने तथा आगलागी भएमा सुरक्षित रूपमा बाहिरिने विषयमा प्रयोगकर्तालाई जानकारी दिन आवश्यक रहेको बताए। 

उनले यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, सवारी उत्पादक र प्राविधिक विज्ञलाई समेटेर सरल नेपाली भाषामा ईभी सुरक्षासम्बन्धी निर्देशिका बनाउन सरकारसँग माग गरे। उनले ड्राइभिङ लाइसेन्सको प्रशिक्षणमा ईभीसम्बन्धी छुट्टै मोड्युल राख्न तथा चार्जिङ स्टेसनमा अनिवार्य रूपमा सुरक्षा सूचना राख्ने व्यवस्था गर्नुपर्ने बताए। 

त्यस्तै, उनले लाइसेन्स वितरण र चालकको दक्षता परीक्षणलाई थप कडा बनाउनुपर्ने बताए। विशेषगरी सार्वजनिक सवारी चालकका लागि उमेर, अनुभव, तालिम र नियमित दक्षता परीक्षणलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ। 

‘प्रविधि भित्रने मात्र होइन, प्रविधि प्रयोग गर्ने नागरिक र चालकलाई शिक्षित बनाउने जिम्मेवारी पनि राज्यको हो,’ बमले भने। 

सडक दुर्घटनामा घाइतेको तत्काल उपचारका लागि ट्रमा सेन्टरको विस्तारमा समेत सरकार गम्भीर बन्नुपर्ने बताए। आफ्नो चुनावी प्रतिबद्धतामा विभिन्न स्थानमा ट्रमा सेन्टर स्थापना गर्ने विषय समेटिएको उल्लेख गर्दै उनले दुर्घटना न्यूनीकरणसँगै घाइतेको तत्काल उपचार सुनिश्चित गर्न राज्यले पूर्वाधार विस्तार गर्नुपर्ने उनको भनाइ छ। 

प्रकाशित: ३१ भाद्र २०८३ १३:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App