भोटेकोशी बाढीबाट प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थान तथा पुनर्स्थापनाका लागि सरकारले विशेष कार्ययोजना अघि बढाउने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा पर्यटन क्षेत्रमा बाढीले पारेको क्षतिसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै पुनरुत्थान प्रक्रिया थालिएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल ‘गनेस’ को उपस्थितिमा भएको कार्यक्रममा ‘क्विक रेस्पोन्स टिम’ का संयोजक एवं नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सहदेव धमलाले स्थलगत अध्ययन प्रतिवेदन प्रस्तुत गरेका थिए।
छलफलपछि मन्त्री पौडेलले आगामी दिनमा विपद्का समयमा प्रभावकारी समन्वय, शीघ्र प्रतिकार्य तथा पर्यटन क्षेत्रको पुनरुत्थानलाई थप व्यवस्थित बनाउन एक विस्तृत ‘रिकभरी प्लान’ को मस्यौदा तयार पार्ने जिम्मेवारी उक्त समितिलाई दिएका छन्।
कार्यक्रममा बाढी प्रभावित क्षेत्रको पर्यटन उद्योगलाई पुरानै लयमा फर्काउन चाल्नुपर्ने तत्कालीन र दीर्घकालीन कदमहरूबारे विस्तृत छलफल भएको थियो।
छलफलमा मन्त्रालयका सचिव मुकुन्द निरौला, सहसचिवहरू, विभिन्न महाशाखा तथा शाखा प्रमुखहरू, नेपाल पर्यटन बोर्डका पदाधिकारी एवं निजी क्षेत्रका पर्यटन व्यवसायीहरूको सहभागिता रहेको थियो।
प्रकाशित: ५ आश्विन २०८३ १९:५१ सोमबार